-->
लागुऔषध दुर्व्यसनी रोक्न डीआईजी चन्दले सम्हाले कमाण्ड, युवा र विद्यार्थीमाथि निगरानी

काठमाडौँ, ११ असार । तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुव्र्यसनमा फसेकोे हुन सक्छन् ।
झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।15
सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था यो सङ्ख्या दुई लाखभन्दा बढिरहेको जिकिर गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागु पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द लागुपदार्थको दुव्र्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको बताउनुहुन्छ । छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्ने उहाँको भनाइ छ ।
छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको सङ्गतबाट टाढा राख्ने, धूमपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ ।
गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रमका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले विशेषतः आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । “छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्छ” उहाँ भन्नुहुन्छ । दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले हाल ३०० पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
अफिम, मर्फिनन, कोडिक, हेरोइन, पेथिडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन् ।
त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो ।
बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महंँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।
ब्युरोका प्रमुख चन्द लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको अनुभव सुनाउनुभयो । उहाँले नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’का रुपमा प्रयाग गर्ने गरेको बताउनुभयो । कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय सङ्स्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ । सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका रुपमा मनाइँदै आएको छ । यो दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । रासस
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.