१० असार, काठमाडौं । नेपाली सेनाले निर्माण गरेको अस्थायी सामूहिक आवास हस्तान्तरण सुरु भएको छ । सेनाले गाविस सचिव र सम्बन्धित सरोकारवालाहरुको रोहबरमा स्थानीय सरकारी निकायलाई हस्तान्तरण प्रारम्भ गरेको हो ।
भूकम्पबाट विस्थापित भएका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र ओखलढुंगा जिल्लाको विभिन्न ३६ स्थानका ४६८ भूकम्पपीडित परिवारहरुलाई लक्षित गरी सेनाले यस्तो आवासको निर्माण थालेको थियो ।
भौगोलिक विकटता, यातायातको असुविधा, सामान अभाव तथा प्रतिकुल मौसमको कारण धादिङको ५, ओखलढुंगाको २ र काभ्रेको १ स्थानबाहेक सबै ठाउँमा संयुक्त आवास निर्माण गरी स्थानीय सरकारी निकायलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भूकम्पबाट विस्थापित परिवारका लागि अस्थायी सामुहिक आवास भवन निर्माण गर्न रक्षा मन्त्रालयले जेठ १२मा नेपाली सेनालाई पत्राचार गरेको थियो । वर्षा अगाडि नै भूकम्प पीडितहरुलाई अस्थायी आवासमा सार्ने नेपाल सरकारको निर्णय बमोजिम जेठ २२ गतेबाट काम थालेको थियो ।
करिब २३ सय जनशक्ति परिचालित गरेर निर्माण कार्य गरिएको सेनाले जनाएको छ । आवास निर्माण कार्यको लागि नेपाली सेनालाई १८ करोड ८८ लाख १६ हजार रुपैयाँ निकाशा भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...