-->
भीख माग्दिन बरु गिट्टी कुटेरै छोराछोरी पढाउँछु’

जाजरकोट नायकवाडा-६ तोलखानाकी पवित्रा सिंहको दिन गिट्टी कुटेरै बित्छ । गिट्टी कुट्ने काम आफ्नो बाध्यता भएको बताउने पवित्राको हातभरी ठेला छन् ।
जीवन राम्रैसँग चलिरहेको थियो । दुई छोरा, एक छोरी र श्रीमान सानो परिवार थियो । श्रीमान विर्खबहादुर सिंहले मजदुरी गरेर भएपनि परिवार राम्रैसँग पालेका थिए । पवित्रालाई कुनै कुराको पिरलो थिएन । विवाह गरेको सात वर्ष नपुग्दै जण्डिस विग्रिएर श्रीमानको ज्यान गयो । छोराछोरीको दायित्व पवित्रा एक्लैले पूरा गर्नुपर्ने भयो ।aa
‘छोराछोरी साना थिए, श्रीमानको ज्यान गएपछि लालनपालनको जिम्मेवारी सबै मेरै काँधमा आयो’ पवित्राले भन्नुभयो, ‘जसरी पनि छोराछोरीलाई पढाउँछु भनेर सदरमुकाम खलंगा आएँ ।’

पवित्रा भन्नुहुन्छ, ऋण गरेर सानो होटल खोलेँ । होटल पनि राम्रोसँग चलेन । सबैले उधारो खाएर पैसा दिएनन् । छोडेर अहिले गिट्टी कुट्न थालेकी छु । गिट्टी कुटेरै भएपनि तीनै जना बच्चालाई जेनतेन पढाउने र छाक टार्ने गरिरहेकी थिएँ । मेरो दुःख देखेर नेपाल महिला संघ जाजरकोटकी अध्यक्ष मैना कार्की रावलले छोरी प्रतिमालाई काठमाडौं लगेर पढाउने व्यवस्था मिलाइदिनु भएको छ ।
कान्छो छोरा भैरवलाई राप्रपा नेपालकी केन्द्रीय सदस्य तथा समाजसेवी अन्जना शाह रावलले पढाइदिने भनेर काठमाडौं लगिदिनुभएको छ । अहिले उहाँहरुको सहयोगले अलि सजिलो भएको छ । जेठो छोरा सदरमुकामकै त्रिभुवन उच्च माविमा ९ कक्षामा पढ्छ ।
भएको पैसा श्रीमानको उपचारमै सकियो । सम्पतिको नाममा नायकवाडामा अलिकति पाखो जग्गा मात्र छ । श्रीमानको ज्यान गएको अहिले आठ वर्ष पुग्यो । म फर्केर घर गएकी छैन ।
बोल्दै गर्दा निकै भावुक र दृढ देखिएकी पवित्राले भन्नुभयो, ‘गिट्टी कुटेरै भएपनि छोराछोरीले सक्नेसम्म पढाउँछु तर भीख माग्दिन ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.