असार १६, २०७३- बुधबार ५ रेक्टर स्केलको भूकम्प गए यता २१ घण्टाको अवधिमा २१ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङको मयाना केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताए । त्यस्तै दिउँसो ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको , ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसपछि १२: ३० सम्म २० वटा साना पराकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । गत साल बैशाख १२ गतेबाट देशभरी नै साना-साना भूकम्पको धक्का महसुस भइरहेकोले यसमा डराउनु पर्ने अवस्था नरहेको समेत भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ । ५ रेक्टरको भूकम्प गएपछि त्यो भन्दा साना धक्काहरु जाँदै गरेको र कम्पन कम हुँदै गएकोले डराउन नपर्ने केन्द्रको भनाइ छ ।
केन्द्र विन्दु नजिक रहेको जयपृथ्वी नगरपालिका-६ मयानामा रहेको निलकटी निमावि दयकुमलाको भवन र धल्देउ प्राविको चर्पी चर्कीएको स्थानीय टेकबहादुर धामीले बताए । भूकम्पका कारण जिल्लामा अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
यता पटक पटक आइरहेको परकम्पका कारण बझाङका बासिन्दाहरु भने त्रसित भएका छन् । भूकम्पको धक्का पटकपटक महसुस भइरहेकोले जिल्ला भर भागदौड भएका खबर आएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...