पोखरा जाँदै गरेको बस ‘पेस्तोल' देखाएर लुटियो
दमौलीः नक्कली पेस्तोल देखाएर बसका यात्रुलाई लुटेर फरार एक अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६१९९ नम्बरको यात्रुबाहक बसका चालकलाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने रमेश विकलाई प्रहरीले पक्राउ गरेको छ।
बस कब्जामा लिएर लुटपाट गर्ने काहुँशिवपुर १ निवासी २४ वर्षीय विकलाई प्रहरीले लुकेर भाग्दै गरेको अवस्थामा घटनाको डेढ घण्टाभित्रै पक्राउ गरेको हो।
उनले घाँसीकुवामा बस आइपुगेपछि नक्कली पेस्तोल देखाएर बसलाई पोल्याङ लगेका थिए। त्यसक्रममा बसका चालक, सहचालक तथा यात्रुबाट करिब २५ हजार नगद लुटेको यात्रुको भनाइ छ।
बिहान ३ बजे भएको घटनापछि फरार विकलाई प्रहरी टोलीले व्यास ११ स्थित विद्युत शवस्टेशननजिकै पक्रेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।
विकले १२ ओटा मोबाइल समेत लुटेको आरोप लागे पनि प्रहरीले उनको साथबाट नगद करिब सात हजार र पाँचवटा मोबाइल बरामद गरेको प्रहरी निरीक्षक विजयराज पण्डितले बताए।
बेरोजगार भएका कारण राजधानी काम गर्न गए पनि भनेजस्तो नपाएपछि फर्कने क्रममा लुटपाट गरेको विकले स्विकार गरेको पण्डितले बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...