-->
ज्यान त अलकत्रामा पौडी खेलेजस्तो भयो : धुर्मुस

पैसा धेरै भयो अब लिन्नौं
काडमाडौं, साउन १ – हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनले तत्कालका लागि सहयोग नलिने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माणका लागि ५ करोड रुपैयाँ सहयोग संकलन भैसकेकाले तत्कालका लागि कसैले पैसा दिए पनि नलिने धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेल धुर्मुसले बताउनुभयो । ‘हाम्रो लक्ष्य ५ करोड रुपैयाँ संकलन थियो, त्यो पूरा भयो त्यसैले तत्कालका लागि सहयोग रकम लिन रोकेका छौँ’ उज्यालो अनलाइनसँग कुरा गर्दै धुर्मुसले भन्नुभयो, ‘पछि समस्या पर्यो भने हामीले फेरी पनि सहयोगको लागि आव्हान गर्नेछौँ तर अहिले चाँही सहयोग नलिने निर्णय गरेका छौँ ।’
भूकम्पले क्षति पुर्याएको मेलम्ची गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत नमुना बस्ती बनाउने काम गरिरहरेको छ । त्यसको लागि गाउँसम्म पुग्ने ५ किलोमिटर सडक ग्राभेल पनि फाउन्डेसनले नै गरेको छ । त्यस्तै गाउँमा पानीको स्रोत नभएकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर छुट्टै विद्युत लाइन विस्तार गरेर गाउँभन्दा तलको खोलाबाट पानी ल्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
घटस्थापनाको दिन घर हस्तान्तरण
एकीकृत बस्ती निर्माणको लागि लगभग सबै भौतिक पुर्वाधारको काम सकिएर घर बनाउने काम सुरु भएको छ । अहिले जगको काम सकेर गाह्रो लगाउने काममा धमाधम लागिपरेको सिताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो ।
ब्लक ए का २६, ब्ल्क बि का २७ र ब्लक सी का १२ गरी ६५ घरमा जग खन्ने र झ्यालढोका राख्ने काम पूरा भएर २/३ मिटर गाह्रो उठाउने काम पनि सकिएको धुर्मुसले जानकारी दिनुभयो । अनेक समस्या आइपरेपनि घटस्थापनाको दिनसम्म सबै काम पुरा गरेर पीडितलाई घरको चाँबी थमाउने योजना रहेको उहाँले जानकारी दिनुभयो । घामपानी र भेलसँग जुध्दै रातदिन काममा लागि परेकाले समयमै काम सकिनेमा आफू ढुक्क रहेको धुर्मुसको भनाई छ ।
ज्यान त अलकत्रामा पौडी खेलेजस्तो भयो
रातदिन काममा खटिनुभएको छ, ज्यान कस्तो छ त ? उज्यालो अनलाइनको प्रश्नमा सिताराम कट्टेलले भन्नुभयो, ‘हात पाखुरा त कालो र अन्धकार डढेलो लागेजस्तो भएको छ, अझै भन्नुपर्दा मोविलको ड्रममा चोबेर निकालेजस्तै भएको छ’ ठट्यौली पारामा धुर्मुसले भन्नुभयो, ‘खान बस्नको टुंगो छैन, ज्यानले तेल पनि नदेखेको कति भयो, अनि कहाँबाट गोरो हुन्छ त ?’
अनि सुन्तलीका हात पाखुरा पनि तपाईंका जस्तै काला भए होलान नी ? प्रश्न गर्न नपाउँदै उहाँले भन्नुभयो, ‘उनी अफिसियल कामले धेरैजसो काठमाडौंमै बस्छिन त्यै भएर मेरा जस्ता काला चाँही छैनन् ।’
ब्रेक टाइममा गाउँलेलाई हसाइन्छ
काम गर्दा सबैजना थाक्ने र निराश पनि हुने भएकाले धुर्मुसले समय मिलाएर गाउँलेलाई हसाउने काम पनि गर्नुहुन्छ । अरु गाउँलेसँगै धुर्मुसले पनि छड, गिट्टी, बालुवा सिमेन्ट बोक्ने, गाह्रो लगाउने, पानीको जोहो गर्ने खाल्डा पुर्ने जस्ता काम गर्नुहुन्छ ।
खाना खान र एकैछिन आराम गने गिरानचौरमा हरेकदिन बिहान ११ बजेदेखी साढे १२ बजेसम्म आराम गर्ने र हासोमजाक पनि हुन्छ । ‘आराम गरेको बेला गाउँलेलाई हसाइन्छ, त्यसो गर्दा उहाँहरु पेट मिचीमिची हास्नुहुन्छ’ सिताराम कट्टेलले भन्नुभयो ।-उज्यालो अनलाइन



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.