
नेपालको चिकित्सा शिक्षा भित्रका विकृती र विसंगतीहरुको समुल अन्त गर्न ७ पटकसम्म आमरण अनशन वस्दा समते नथाकेका डा. गोविन्द के.सी. अहिले आठौ पटक आमरण अनशन वसिरहेका छन् । अनशन वस्ने, सहमती हुने र सहमती कार्यान्वयन नहुने प्रचलनको कारण ८ औं पटकको अनशन सुरुवात भएको कुरालाई सवैले सजिलै अनुमान गर्न सकिन्छ । सात पटकको अनशनले केही उपलब्धी नै प्राप्त भने नगरेको होईन । माथेमा प्रतिवेदन, डा. भगवान कोईराला कार्यकारी उपाध्यक्ष रहेको चिकित्सा शिक्षा आयोग, एमविविएस तहको सिट र शुल्क निर्धारण जस्ता कुराहरु भएपनि सफल कार्यान्वयन भने हुन सकेन । प्राप्त भएको सफलता संस्थागत हुन नसक्नुको पछाडी निजी मेडिकल कलेजको प्रभावमा परेका विश्वविद्यालय र काउन्सिलका पदाधिकारीको गलत नियत र कार्यशैली मुख्य भुमिका खेलेको छ ।
नेपालको चिकित्सा शिक्षा कम गुणस्तरयुक्त र विसंगतीपूर्ण हुनुमा प्रत्यक्ष भुमिका निजी मेडिकल कलेजको भएपनि अप्रत्यक्ष तर महत्वपूर्ण भुमिका भने सम्वन्धित विश्वविद्यालय र काउन्सिलका पदाधिकारीको देखिन्छ । सवाल उठन सक्छ कसरी ? जवाफ धेरै नै सहज छ । हरेक वर्ष सम्वन्धित विश्वविद्यालय र काउन्सिलले मेडिकल कलेजको निरिक्षण गर्छन् । निरिक्षणको आधारमा नै सिट संख्या निर्धारण हुन्छ भन्ने मान्यता रहेको छ । निरिक्षणको क्रममा मेडिकल कलेजले उभ्याएका शिक्षक, बिरामी, पूर्वाधार, सेवा आदीको वास्तविकता निरिक्षणमा सहभागी टोलीलाई ज्ञात भएपनि उनिहरुले आँखा चिम्लने प्रचलन छ । किन आँखा चिम्लने ? डा. उपेन्द्र देवकोटाको शब्द सापटी लिएर भन्ने हो भने भिटामिन एम ( मनी ) को कारणले ।
विश्वविद्यालय र काउन्सिलले मापदण्ड बनाउछन् तर निजी मेडिकल कलेजले मापदण्डलाई धोती लगाईदिन्छन् । कारण भिटामिन ‘एम’ । सरकार, विश्वविद्यालय र काउन्सिलका नियम र निणर्य पालना नगर्नेको सम्वन्धन समेत रद्ध गर्न पाउने अधिकार भएपनि विश्वविद्यालयका पदाधिकारीले आप्mनो अधिकारको किन प्रयोग गर्दैनन् ? कारण भिटामिन एम । जानकी मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्दासम्म किन कारवाही हुन सकेन ? नेपालका निजी मेडिकल कलेजलाई गाली गरेर र मेडिकल माफिया भनेर मात्रै समस्याको समधान हुँदैन । विश्वविद्यालय र काउन्सिलका पदाधिकारीको चिन्तन, सोच, कार्यशैली नै परिवर्तन हुनु जरुरी छ । जस्तोसुकै कानुन बनेपनि कार्यान्वयन गर्ने निकाय भ्रष्ट र अपारदर्शी भयो भने त्यसले खास अर्थ राख्दैन ।
डा. गोविन्द केसीको आमरण अनशन र निजी मेडिकल तथा डेन्टल कलेजको तर्फवाट गरिएका आन्दोलनले आम नेपालीको ध्यान आर्कषण गरेको छ । डा. गोविन्द केसीको अनशनको आसय र चाहना भने आम नेपालीको स्वास्थ्य सेवासंग प्रत्यक्ष जोडिएको छ । डा. केसीको आन्दोलनलाई साच्चिकै निस्तेज बनाउन निजी मेडिकल कलेज लागेको हो भने एउटा मात्रै विकल्प छ त्यो हो सुधार र सर्वसुलभ । विना सुधार र पारदर्शिता डा. गोविन्द केसीको आन्दोलनलाई असफल बनाउने सपना देख्नुनै नेपालका निजी मेडिकल कलेजको कमजोरी हो ।
नेपालको मेडिकल शिक्षा र निजी मेडिकल कलेजमा सुधार र गुणस्तरियता आएमा डा. गोविन्द केसीको आन्दोलनको केही अर्थ रहँदैन । डा. गोविन्द केसीको अभियानको विरुद्धमा भाडाका मानिसहरु जोडेर सडकमा उत्रनुभन्दा आप्mनो कलेजको अवस्थालाई सुधार गर्नतर्फ लाग्दा नै निजी मेडिकल कलेजलाई हित होला । केहि समय मेडिकल कलेजका सञ्चालकहरुले पैसा खर्च गरेर आन्दोलनलाई कमजोर बनाउन खोज्लान तर अन्तत्वगत्वा जित सत्यको नै हुन्छ ।
डा. गोविन्द केसीको अनशन र त्यसको समर्थनमा देखिएको लहर देखेर नेपालकै चर्चित डा. भोला रिजाको नेतृत्वमा केहि मान्छेहरु काठमाण्डौको सडमा उत्रिए । आफुहरुले गर्दै आएको लुट, अन्याय, अत्याचारमा कसैले रोकतोक लगाउन पाउँदैन भन्नु आफैमा लाजमर्दो भएपनि उनको दृष्टिबाट ठिकै होला । उनिहरुले सडकमा आउनुभन्दा पहिले नेपालमा सञ्चालनमा रहेका निजी मेडिकल कलेजले आधारभुत मापदण्ड पुरा गरेका छन् ? भन्ने कुरा सोच्नुपर्ने थियो तर चाहनेन् । किननी उनिहरुसंग पैशा र शक्ति छ ।
डा. भोला रिजाल उनको पेशाको दृष्टिकोणवाट राम्रै हुन जस्तो लाग्थ्यो । सवैले उनलाई मानेकै थिए । डा भोला रिजाल भनेको व्यक्ति नभएर संस्था नै हो भन्ने सोच नेपाली जनतामा विकास भएको थियो । मेडिकल कलेजका अधिकांश सञ्चालक कुनै न कुनै विषयमा विवादमा छन् । कतिले त विशेष अदालतमा मुद्धा पनि खेपिरहेका छन् । डा. भोला रिजालको विषयमा प्रतिक्रिया लेख्दा मलाई धेरै नै पिडा भएको छ तर लेख्न वाध्य छु ।
नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले गरेका कमजोरी र डा. रिजालको बारेमा धेरै शब्द खर्च गर्नुभन्दा निजी मेडिकल कलेजको संगठनको अध्यक्षको हैसियतमा नभै सच्चा नेपाली नागरिक र आम नेपालीको डाक्टरको हैसियतमा केही सवालहरु डा. भोला रिजाललाई राख्न चाहन्छु । डा. भोला रिजाल तपाँईले विवेक र नैतिकता प्रयोग गरेर सार्वजनिक रुपमा जवाफ दिनुभएमा आभारी हुने थिए ।
– के डा.गोविन्द केसीले उठाएका मागहरु नाजायज नै हुन् त ? हुन् भने कसरी ?
– के नेपालमा सञ्चालनमा आएका मेडिकल कलेजहरुले न्यूनतम मापदण्ड पुरा गरेका छन् ?
– के नेपालमा खोलिएका मेडिकल कलेज र तिनका सञ्चालकले नेपालको कानुून र नियम मान्नु पर्दैन ?
– नक्कली शिक्षक, नक्कली बिरामी र पूर्वाधार नपुगे पनि मेडिकल कलेजले मागेजती सिट दिनु उचित होला ?
– एउटै कक्षामा १५० जना विद्यार्थी पढाँउदा विद्यार्थीले सजिलै सिक्न सक्छन् ?
– पैशा हुँदा वित्तिकै डाक्टरी पढ्न पाउनु पर्दछ र तिनिहरुलाई जसरी पनि डाक्टर बनाउनु पर्दछ भन्ने मान्यता के ठिक हो ?
– के नेपालमा चिकित्सा शिक्षा नीति जरुरी पर्दैन ?
– मेडिकल शिक्षा पढाउनको लागि के उमेरको हद र शारिरिक निपूर्णता आवश्यक पर्दैन ?
– के तपाँईले नेपालका मेडिकल कलेजको शिक्षाको गूणस्तर र शिक्षण अस्पतालवाट उपलब्ध हुने सेवाको बारेमा जानकारी राख्नुभएको छ ? यदि छ र सन्तोषजनक देख्नुभएको छ भने सवै समय नेपाल मेडिकल कलेजवाट सेवा नगरेर किन ओम अस्पतालवाट सेवा प्रवाह गर्नु भएको ?
– के नेपालको मेडिकल शिक्षाको शुल्क तोक्नु र नियमन गरिनु तपाँईको दृष्टिमा अपराध हो ?
– तपाई आफू र श्रीमती बिरामी हुँदा आफ्नो अस्पतालमा किन उपचार गर्नु भएन ? अस्पताल व्यापार गर्न मात्र खोल्नु भएको हो ?
यस्ता धेरै सवाल छन् । बाँकी अर्को भेटमा बिसाउने बाचा राख्दै अहिलेलाई डा. भोला रिजालको वुद्धी फिरोस र आम नेपाली जनताले सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य शिक्षा र सेवा पाउन शुभकामना ।(स्वास्थ्य खबर)

0 comments
प्रतिक्रिया दिनुहोस्...