-->
रोनाल्डो, मेस्सी र स्वारेज परे, नेइमार अटाएनन्

साउन ४ – युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले गएको सिजनको प्रदर्शनको आधारमा युरोकपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० मा परेका खेलाडीको नाम सोमबार सार्वजनिक गर्यो । 
सुरुवाति मनोनयनमा परेका ३७ जना खेलाडीबाट युइएफएका ५५ सदस्य एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्ने ५५ पत्रकारको मतको आधारमा उत्कृष्ट १० खेलाडीको नाम छनौट गरिएको हो । उत्कृष्ट १० मा स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका गरी ६ खेलाडी परेका छन् ।

रियल मड्रिडबाट टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डो, पेपे, ग्यारेथ बेल र टोनी क्रस उत्कृष्ट १० मा परेका छन् । 
यस्तै बार्सिलोनाबाट लियोनल मेस्सी र लुइस स्वारेज परेका छन् । तर बार्सिलोनालाई लि लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका नेइमार भने उत्कृष्ट १० मा अटाएनन् । यस्तै अन्तिम १० खेलाडीको सूचीमा युभेन्टसका जियानलुइजी बुफोन, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तथा बार्यन म्युनिखका थोमस मुलर र म्यानुएल नुएर परेका छन् । अन्तिम १० मा इंग्लिस प्रिमियर लिग खेल्ने कुनै पनि खेलाडी पर्न सकेनन् । 
५५ जना पत्रकारलाई आफूलाई उत्कृष्ट लागेका पाँच खेलाडीलाई मत दिन भनिएको थियो । त्यसमा पहिलो नम्बरमा पर्नेले पाँच अंक, दोस्रोमा पर्नेले चार, तेस्रोमा पर्नेले तीन, चौथोमा पर्नेले दुई तथा पाँचौंमा पर्नेले एक अंक पाएका थिए । सबै भन्दा धेरै अंक पाउने १० खेलाडी दोस्रो चरणको मतदानमा पुग्न सफल भएका हुन् । 

आउँदो अगस्ट पाँचमा अन्तिम तीनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिने छ । त्यसपछि अगस्ट २५ मा सन् २०१५–१६ को युरोपको उत्कृष्ट खेलाडीको अवार्ड घोषणा हुनेछ । 
गएको वर्षका विजेता लियोनल मेस्सी तेस्रो पटक अवार्ड जित्ने दाउमा छन् । उनले सन् २०११ मा पनि अवार्ड जितेका थिए । यस्तै सन् २०१४ का विजेता क्रिष्टियानो रोनाल्डो दोस्रो अवार्डको दाउमा छन् । नेइमार १९ औं स्थानमा परे भने लिसेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रियाद महरेज ११ तथा जेमी भर्डी १२ औं स्थानमा परे । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.