-->
बामदेव भन्छन् ‘मलाई माओवादी फकाउन पठाउने, पछि धोका दिने ?’

काठमाडौं, ६ साउन । ‘तपाईको कार्यशैली निरंकुशतातिर जान थाल्यो, आफ्नै कारणले एमाले खाल्डोमा जाकिन्छ कि भन्ने डर भइसक्यो‘।’ मगंलबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा तीन शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीको सातो लिने शैलीमा झपारि रहेका थिए । चुपचाप सुनेर बसेका ओलीलाई बरिष्ठ नेता माधवकुमार नेपालले ‘न भनेको मान्ने न आफूले सहि निर्णय लिने’ भन्दै गाली गरेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । केपी ओलीको कार्यशैलीबाट चित्त बुझाउन नसकेका नेपाल सार्वजनिक रुपमै आलोचनामा उत्रिन थालेको थुप्रै भइसकेको छ । नेपालले मंगलबारको बैठकमा ओलीको खुलेरै आलोचना गरेका थिए । ‘खोक्रो राष्ट्रवाद’ को नाममा ओलीले राजनीति गरेको भन्दै त्यसले भारतसँगको एमालेको सम्बन्ध बिगारेको समेत भन्न भ्याएका थिए । नेपाललाई साथ दिँदै झलनाथ खनाल र बामदेव गौतमले ओलीले समयमा ‘राजीनामा’ दिएको भए यो अवस्था आउने थिएन भनेर असन्तुष्टि जनाए ।खनाल र गौतमले प्रचण्डलाई प्रधानमन्त्री बनाउने पूर्व सहमति कार्यान्वयन नगरेर ओलीले राजनीकि बेइमानी गरेको भन्न समेत भ्याएको स्रोतको भनाई छ । सबै कुरा सुनिसकेपछि ओलीले ‘अब जे भयो–भयो के गरु त ?’ भनेर प्रश्न गरेका थिए । त्यसपछि माओवादी केन्द्र र कांग्रेस मिलेर अविश्वासको प्रस्ताव संसदमा दर्ता गराइ सकेकाले अब त्यसलाई ‘फेस’ गर्नुको बिकल्प छैन भनेर महासचिव ईश्वर पोखरेलले वीचको बाटो सु झाएपछि नेपाल, खनाल र गौतमले मन अमिलो बनाएर हुन्छ नि त्यसै गरौं भनेका थिए । माओवादीलाई ओलीले अरुको कुरा सुनेर धोका दिएकोमा नेपाल, खनाल र गौतमको आक्रोश थियो । उनीहरूले माओवादीसँग मिलेर फेरि पनि सरकार बनाउन सकिने भएकाले अहिले माओवादीलाई धेरै गाली गर्न नहुने बैठकमा धारणा राखेका थिए । उपाध्यक्ष गौतमले ‘मलाई माओवादी फकाउन पठाउने, पछि धोका दिने ? यस्तो कार्यले कति दिनसम्म राजनीति गर्ने ?’ भनेर ओलीसँग प्रश्न गरेका थिए । गौतमले बैठकमा भने–‘माओवादी केन्द्रले सरकार छाड्दै छ भन्ने थाहा पाउँदा पाउँदै त्यसलाई फकाउने हो कि ? प्रचण्डलाई बालुवाटारमा बोलाएर झपार्ने हो ?’ प्रचण्ड राजनीतिक व्यक्ति भएकाले उनीसँग कुरा मिलाएको भए अहिले एमाले प्रतिपक्षमा पुग्ने थिएन भन्दै गौतमले आफ्ना कुरा राखेका थिए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.