पोखरा, १८ असार । पोखरामा अहिलेसम्म नेपालकै सबैभन्दा धेरै तोलको शिशु जन्मिएको छ ।
स्याङ्जा जिल्लाको एलादी गाविस–१ घर भइ पोखरामा ट्याक्सी चलाउँदै आएका होमबहादुर गुरूङ र लक्ष्मी गुरूङको दोस्रो सन्तानका रुपमा पौने ६ किलो तौलको छोरा जन्मिएको हो । चिकित्सकहरूले हालसम्म मुलुकमै सुनिएमध्येको यो सम्भवतः बढी तौलको हुनसक्ने बताएका छन् ।
२८ वर्षीया लक्ष्मीलाई शुक्रबार बेथा लागेपछि रानीपौवाको साइ अर्चना अस्पताल भनाइ गरिएको थियो । शुक्रबार साँझ अप्रेसनबाट जन्मिएको बच्चा अस्वभाविक तौलको पाइएपछि अब्जरभेजनका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको डा. अर्चना पुनले बताइन् ।
‘मेरो करिअरमै आफूले हेरेका पेसेन्टको चार किलो दुई सय ग्रामभन्दा बढी तौलको बच्चा जन्मेको थाहा थिएन,’ उनले भनिन, ‘आमा बच्चा दुबै नर्मल छन् । तैपनि अस्वभाविक तौल भएकाले बच्चालाई अब्जरभेसनका लागि रिजनल हस्पिटल पठाएका हौं ।’
गर्भवती अवस्थामा निकै कम जचाउन आउने लक्ष्मीलाई गर्भ रहेको ५ महिनापछिमात्रै थाहा भएको थियो । शुक्रबार बेथा लागेपछि अस्पताल ल्याइँदा मज्जाले मासुभात खाएर आएको बताएपछि ६ घण्टा पर्खाएरमात्रै अपरेसन गरिएको डा. पुनले बताइन ।
‘मलाइ भिडियो डाक्टरले आमाको बोसो धेरै छ अपरेसन गाह्रो होला भनेका थिए,’ उनले भनिन्, ‘अप्रेसन त गरियो तर, अरु सबै नर्मलै रह्यो । म आफैं छक्क परेकी छु ।’ जन्मँदा ६ किलो तौल देखिएको बच्चा डिजिटल तौल मेसिनमा ५ किलो ७ सय ५५ ग्राम देखिएको छ । लक्ष्मी आफैं पनि अचम्ममा परेकी छन् । ‘अलि गाह्रो त हुन्थ्यो तर, बच्चा नै यति भारी होला भन्ने मलाइ के थाहा ?’, उनले भनिन् । यतिबेला आमालाई साइ अर्चना र बच्चा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...