-->
गोविन्द केसीको विरोधमा मनमोहन मेमोरियल कलेजका ३३ जना डाक्टर अनसन बस्ने

काठमाडौं, असार २४ - प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पतालका डाक्टरहरुले शिक्षण अस्पतालका महाराजगञ्जका डाक्टर गोविन्द केसीको विरोधमा अनसन गर्ने भएका छन् ।

उनीहरुले शिक्षण अस्पताल महाराजगञ्जमा २६ गतेदेखि दिउँसो २ बजेदेखि अनसन बस्ने भन्दै कोठा उपलब्ध गराइदिन माग गरेका छन् । अनसनका लागि कोठा माग्दै शिक्षण अस्पतालका महानिर्देशकलाई लेखेको पत्रमा मनमोहन मेमोरियलका ३३ जना डाक्टरको नाम र हस्ताक्षर तथा अस्पतालका सम्पूर्ण प्राविधि, नर्सिङ, प्रशासनिक विभाग उल्लेख छ । 

‘त्यहि अस्पतालमा कार्यरत प्राध्यापक डाक्टर गोविन्द केसीले यस प्रस्तावित मनमोहन मेमोरियल शिक्षण अस्पताल, स्वयम्भूलाई लक्षित गरी माग राख्नु भएको र अन्य मागहरुप्रति पनि हाम्रो असहमति रहेकाले २६ गते दिउँसो २ बजेदेखि त्यसै अस्पताल हातामा हामीले अनसन बस्ने निर्णय गरेका छौं’ उनीहरुको पत्रमा लेखिएको छ ।

डा. केसीले मनमोहन मेमोरियललाई सम्बन्धन दिन संसदमा प्रस्ताव गरिएको विधेयक खारेज गर्न माग गर्दै आउनु भएको छ । केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनसमेत माग गर्दै असार २६ गतेदेखि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा पनि गर्नुभएको छ । नेपालको मेडिकल शिक्षामा सुधारको माग राख्दै केसी यसअघि पटक पटक अनसन बस्नु भएको थियो ।  

मेडिकल शिक्षामा देशलाई आत्म निर्भर बनाउनु पर्ने, देशका दुर्गम स्थानहरुमा प्रदेश नै पिच्छे २ वटा मेडिकल खोल्नु पर्ने, डाक्टर गोविन्द केसीको आन्दोलन रोक्नु पर्ने र उहाँलाई कारवाही गरिनु पर्ने माग मनमोहन मेमोरियलका डाक्टरहरुले राखेका छन् । 

उनीहरुले बुझाएको पत्रमा डाक्टर केसीले देशद्रोहीहरुको साथ पाएर अनेक अराजक हर्कत गर्दै आएको आरोप लगाउँदै केसीको अनसनका कारण शिक्षण अस्पतालमा भएको क्षति र केसी सरकारी कोटामा निशुल्क अध्ययन गर्न जाँदा राज्यले व्यहोरको रकमको साँवा व्याज असुल उपर गर्न माग गरिएको छ । ujyaalo90 network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.