नेपाली टोलीले लर्ड्स मैदानमा एमसिसीसँग खेल्ने खेल लाइभ हेर्न पाइने
काठमाडौं, साउन ३ – नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा हुने खेल नेपालमै बसेर प्रत्यक्ष हेर्न पाइने भएको छ ।
लर्ड्स क्रिकेटको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रशारण हेर्न पाइने भएको हो । लर्ड्सको फेसबुक पेजमा गएर लाइभ अपडेटहरु पनि पाउन सकिन्छ । लर्ड्समा खेल्न पाउनुलाई नेपाली खेलाडीले आफूलाई भाग्यमानी ठानेका छन् ।
यस्तो मौका बारम्बार नआउने भएकाले लर्ड्समा नेपाली टोलीले सकेसम्म राम्रो प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले बताएका छन् ।
नेदरल्यान्ड्ससँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो ।
आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको थियो । यस्तै नेपाली टोलीले गएको शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई चार विकेटले, बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा इन्डियन जिमखानालाई २० रनल र बुधबार भएको ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई एक सय २९ रनले हराएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...