ईश्वर थापा, धनकुटा, १८ असार, ग्रामीण क्षेत्रमा सडक बनाउने क्रम निकै तिब्र छ । स्थानीय निकायमा जाने आधाभन्दा धेरै बजेट सडकमा खर्च हुने गरेको छ । तर, २० हजारदेखि साठी लाख रूपैयाँसम्म वार्षिक बजेट खर्चेर बनाइएका ती सडक कति टिक्छन् भनेर कुुनै निकायले ध्यान दिएको पाईदैन । यसरी वार्षिक विकासे बजेट रकम खर्चेर बनाइएका ती सडक अहिलेसम्म हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडकमै सिमीत रहेका छन् । ट्याक्टरसम्म कष्टले सञ्चालनमा आएका ती सडकमा सरदर एकदेखि डेढ लाख रूपैयाँको वार्षिक मर्मत कार्य हुने गरेपनि वर्षातको समयमा पानी परेपछि सबै बगाउने र पहिरो झर्ने गरेको छ । धेरै ठाउँमा सडकको मर्मतको काम भइरहेको भए पनि सबै सडकमा काम नभएको तेलिया गाविसका सचिव फडिन्द्र भण्डारीले बताए । धनकुटामा जिल्ला विकास समिति, दुई नगरपालिका, २८ वटा गाउँ विकास समिति र केन्द्रबाट बजेट विनियोजन भएर निर्माण गरिएका ग्रामीण सडक पूर्णरूपमा निर्माण सम्पन्न भएका पाउनै सकिँदैन । वि. सं. २०६० सालदेखि धनकुटामा ग्रामीण सडक निर्माण गर्ने होडबाजी नै चलेको छ । स्थानीय निकायमा आउने बजेट स्थानीयलाई प्रत्यक्ष रोजगारी पुग्ने गरी उनीहरूलाई नै परिचालन गरेर खर्चनु पर्ने प्रावधान रहेको छ । तर, स्थानीय निकायमा झगडा गरेर बजेट तानातान गरी पहुँचवालाले बजेट ल्याउने र उक्त छुट्याएको रकमले डोजर, स्काभेटर लगाएर भकाभक डाँडा भत्काउने र सडकको डोब बनाउने काम मात्रै भइरहेको छ । प्राविधिक लगाउने र स्तरीय बनाउने गरेको पाईँदैन । भण्डारीले पाँच वटा गाविस एक जना प्राविधिकले हेर्नुपर्ने भएकाले समस्या भएको बताए । गाविसमा पनि कार्य सञ्चालन अनुदान कम भएका कारण प्राविधिक राख्न नसकिएको बताए । जथाभावी सडक खन्ने क्रमलाई रोक्न जिल्ला विकास समितीले के गर्दैछ त ? भन्ने प्रश्नमा धनकुटाका स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहालले सडकका लागि मात्रै निवेदन आउने गरेको र जिल्लाका राजनैतिक दल पनि सडककै पक्षमा लागेकाकोे बताए । यस आर्थिक वर्षमा मात्रै धनकुटा जिल्लामा सडकका लागि सडक डिभिजन कार्यालय, जिल्ला विकास समिति र धनकुटा नगरपालिका मार्फत ११ करोड ४९ लाख १९ हजार रुपैयाँ खर्च गरिँदैछ । उक्त रकमले दश वटा सडक योजना अन्तर्गत ८५ वटा ग्रामीण सडकका योजनाहरु सम्पन्न गरिने छन् । स्थानीय विकास मन्त्रालय, सडक विभाग, सडक बोर्ड र राष्ट्रिय योजना आयोगका योजना तथा कार्यक्रम अन्तर्गत सम्पन्न हुने उक्त योजनाहरु पाँच सय ६० दशमलव एक किलोमिटर सडक मर्मतसम्हार, कालोपत्रे र नयाँ सडक बनाउनका लागि खर्च गरिदैँछ । जसमा सडक डिभिजन कार्यालय धनकुटाले यस आर्थिक वर्षमा ११ वटा नयाँ तथा पुरानो सडकको लागि चार करोड ७५ लाख ७९ हजार रुपैयाँ खर्च गर्ने भएको छ । तर, जति खर्च गरेपनि सडक हिलाम्मे छन् त भन्ने प्रश्नमा सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुनिलकुमार गुप्ताले चरणबद्व रुपमा सडक बलियो हुने बताए । त्यस्तै जिल्ला विकास समिति धनकुटाले यस आर्थिक वर्षमा १७ वटा कार्यक्रम अन्तर्गत चार करोड ५८ लाख ४० हजार रुपैयाँ खर्च गर्दैछ । यसरी नै धनकुटा नगरपालिकाले स्थानीय विकास मन्त्रालय र सडक बोर्डको योजना अन्तर्गत यस आर्थिक वर्षमा १५ वटा ग्रामीण र शहरी सडकका लागि दुई करोड १५ लाख खर्च गर्ने इन्जिनियर मिङ्मा दोर्जी शेर्पाले जानकारी दिए । शेर्पाकाअनुसार धनकुटा नगरपालिकाका अधिकांश योजना सम्पन्न भइसकेका र नगरपालिका भित्र करिब एक सय ५० वटा सडक रहेको बताए । विकासको पहिलो महत्वपूर्ण पूर्वाधार सडक भएकोमा दुईमत छैन तर दीर्घकालीन सोच नबनाई अहिले धमाधम खनिएका सडकले विकासको नाममा कतै विनाश त भइरहेको छैन भन्ने सम्बन्धित निकायले बेलैमा सोच्नु जरुरी देखिएको छ ।Aja ko khabar
धनकुटामा ग्रामीण सडकको अवस्था दयानिय
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...