काठमाण्डु, ३० असार– नेकपा माओवादी केन्द्रको एक पक्षले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई पार्टीबाट अलग हुन दबाब दिएको छ ।
पूर्वजनमोर्चा पृष्ठभूमिबाट आएका श्रेष्ठ पक्षधर नेता तथा कार्यकर्ताको ठूलो हिस्साले उनलाई पार्टी छाडेर नयाँ गठनका लागि दबाब दिएका हुन् ।
केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेस र मधेसी मोर्चासँगको गठबन्धनमा प्रधानमन्त्री बन्ने प्रचण्डको तयारीप्रति श्रेष्ठ रुष्ट छन् । उनले ओली सरकारबाट बाहिरिनुलाई ‘रहस्यमय परिघटना’ भनेका छन् । त्यसबारे आफूले सञ्चार माध्यमबाट मात्र जानकारी पाएको भन्दै उनले ‘अँध्यारोमा राखेर गरिएको निर्णय’ को हेर्डकवार्टर बैठकमा प्रतिवाद गर्ने बताउँदै आएका छन् ।
श्रेष्ठ निकट एक केन्द्रीय सदस्यले देशी विदेशी शक्तिको चलखेलमा सरकारबाट बाहिरिने निर्णय भएकाले पार्टीमा बस्न नहुने सुझाव श्रेष्ठलाई दिएको बताए । ‘पटकपटक हामीलाई बाइपास गरेर मुलुक र पार्टीका लागि घातक सिद्ध निर्णय हुने गरेको छ’, उनले काठमाण्डु टुडेसँग भने, ‘हामीले पार्टीमा नबसौं भनेर उहाँ (नारायणकाजी) लाई सुझाव दिएका छौं ।
उनले पार्टीभित्र बेलाबेला हुने बहसबाट आतंकित भएर पार्टी विभाजनको आत्मघाती बाटो रोज्ने कमजोर व्यक्ति आफू नभएको दाबीसमेत गरे । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे सञ्चार मध्यममा बोल्न इच्छुक नभएको श्रेष्ठको भनाइ थियो ।
आफ्नै आग्रहमा शुक्रबार पार्टी हेर्डक्वार्टर बैठक बस्न लागेको र सोही बैठकमा आफ्ना धारणा राख्ने भन्दै उनले थप टिप्पणी गर्न मानेनन् । ‘भोलि (शुक्रबार) हाम्रो हेर्डक्वार्टर बैठक बस्दैछ’, श्रेष्ठले भने, ‘पहिला पार्टीभित्र धारणा राखेर मात्र बाहिर बोल्छु ।’kathmandu today


0 comments
प्रतिक्रिया दिनुहोस्...