-->
बेलायतमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी

काठमाडौं, असार ३१ – बेलायत भ्रमणमा रहेको नेपाली टोलीले बिहीबार भएको टि ट्वान्टी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानालाई २० रनले पराजित गरेको छ । 
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो  । जसका लागि सागर पुनले ५५ रनको योगदान गरे । सागरले ४७ बलमा एक छक्का र चार चौकाको मद्दतमा ५५ रन बनाएका थिए । 

त्यस्तै ज्ञानेन्द्र मल्लले मात्र २० बल खेल्दै चार चौकाको मदतमा ३८ रनको योगदान गरे । कप्तान पारस खड्काले आठ बल खेल्दै १५ रन बनाएका थिए । त्यस्तै राजेश पुलामी १३, राजु रिजाल २४, सुवास खकुरले ६ र विनोद भण्डारीले २ रनको योगदान गरेका थिए । नेपालले जम्मा १५ चौका र ३ छक्का प्रहार गरेको थियो । सागर, राजेश र राजुले एक/एक छक्का प्रहार गरेका थिए । 
१६३ रनको लक्ष्य पछ्याएको स्थानीय क्रिकेट कल्ब इन्डियन जिमखानाले पुरै आभर खेलेर सबै विकेट गुमाउँदै मात्र १४२ रन बनाएको थियो । इन्डियन जिमखानाका लागि पुनिट के मेराले सर्वाधिक ४७ रन बनाएका थिए । त्यस्तै सदिक अम्रादीले २५, आदित्य आर्चियाले १५, भुपिन्दर सिंहले २४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । 

इन्डियन जिमखानालाई सस्तैमा समेट्न बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुई/दुई विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्काले एक विकेट लिएका थिए । 

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा मैत्रीपूर्ण खेल खेल्ने छ । नेपाली टोलीले पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनले हराएको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.