-->
माओवादीको निर्णय देशका लागि दुर्भाग्यपूर्णः एमाले

काठमाडौंः नेकपा एमालेले आफू नेतृत्वको सरकारबाट बाहिरिने नेकपा माओवादी केन्द्रको निर्णयलाई देश र संविधानका लागि दुभाग्र्यपूर्ण भनेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटिको४० औं विशेष बैठकले माओवादीको सरकार बहिर्गमनको निर्णय उसैका लागि पनि प्रत्युदपादक हुने ठहर गरेको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ’, बैठकपछि एमाले महासविच ईश्वर पोखरेलले निकालेको विज्ञप्तीमा भनिएको छ ।

एमालेले माओवादीको बहिर्गमनबाट देशमा शुरु भएको आर्थिक समृद्धि र भूकम्पपछिको पुनर्निर्माणको बाटोमा पनि धक्का पुगेको जनाएको छ ।

‘सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ’, एमालेले भनेको छ, ‘वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएको थियो ।’ 

एमालेले माओवादीको यो निर्णयबाट प्रधानमन्त्रीको चीन र भारत भ्रमणबाट प्राप्त उपलब्धी पनि जोखिममा परेको जनाएको छ । ‘माओवादीको यो निर्णयबाट मित्रराष्ट्र भारत र चीनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धीलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको छ’, एमालेले भनेको छ ।

माओवादी केन्द्रको यो निर्णयपछि पनि एमालेले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक उभिने जनाएको छ ।

‘राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई एमाले आह्वान गर्दछ ’, विज्ञप्तीमा भनिएको छ ।Annapurna post 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.