७ वटा क्लबले लिन नमानेका ग्रिजम्यान फ्रान्सका ‘हिरो’
असार २६ – टिमका साथीले ग्रिजोउ, ग्रिजी वा एन्टो भनेर चिनिने फ्रान्सका एन्टोनी ग्रिजम्यान युरोकप २०१६ को क्रममा फुटबल प्रेमीमाझ थप लोकप्रिय भएका छन् ।
उनले दुई गोल गरेर विश्व विश्व विजेता जर्मिनीलाई हराउँदै फ्रान्सलाई फाइनलमा ल्याएका छन् । अहिलेसम्म ६ गोल गरेका ग्रिजम्यान गोल्डेन बुटको बलिया दाबेदार हुन् ।
उनी दोस्रो स्थानका क्रिष्टियानो रोनाल्डो, ओलिभर जिरउड, दिमित्री पेयट र ग्यारेथ बेल भन्दा तीन गोलले अघि छन् । सेमिफाइनलमा दुई गोल गरेपछि उनी फ्रान्सका राष्ट्रिय हिरो बने भने समाचारका हेडलाइनमा छाए । ग्रिजम्यान आइतबार राति पेरिसमा हुने फाइनलमा पोर्चुगल विरुद्ध खेल्ने छन् ।
ग्रिजम्यानका बारेमा केही रोचक जानकारी
- १) ग्रिजम्यानको मामा घर पोर्चुगल हो । उनकी आमाका बवा एमारो लोपेज पोर्चुगिज हुन्, उनी फ्रान्स आउनु पहिले पोर्चुगलको स्थानीय क्लबबाट खेल्ने गर्थे ।ग्रिजम्यानका हजुरबुवा लोपेज सन् १९५७ मा श्रीमती कारोलिनासँगै फ्रान्सको मोनाको बसाइँ सरेका थिए । ग्रिजम्यानकी आमा इसाबेलीले सन् १९९१ को मार्च २१ मा मोनाकोमा ग्रिजम्यानलाई जन्माएकी थिइन् । ग्रिज म्यानका मामा जोसे लोपेसले गएको वर्ष पोर्चुगिज मिडियासँग पोर्चुगलले ग्रिजम्यानलाई राष्ट्रिय टिममा आउन आग्रह गरेको बताएका थिए ।
- २) अहिले एथ्लेटिको मड्रिडबाट खेल्ने ग्रिजम्यान सात वटा क्लबबाट अस्वीकृत भएका थिए । उनी १३ वर्षको हुँदा विभिन्न सात क्लबले उनलाई पातलो र निकै सानो भएको भन्दै अनुबन्ध गर्न अस्वीकार गरेका थिए ।
- ३) ग्रिजम्यानले अहिलेसम्म व्यवसायिक फुटबल स्पेनबाट मात्रै खेलेका छन् । पहिले रियल सोसिडाडमा रहेका ग्रिजम्यान अहिले एथ्लेटिको मड्रिडमा छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...