असार १७, २०७३- काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण ध्यान शिविरका लागि लन्डन आइपुगेका छन् ।
उनी मंगलबार लन्डन साउथहलस्थित श्रीराम मन्दिरमा आयोजित सत्संगमा सहभागी भए । ‘ध्यानबाट कसरी सुखी र समृद्ध बन्न सकिन्छ?,’ भन्ने विषयमा बोल्दै स्वामी अरुणले भने, ‘संसारमा दुईवटा कुरा छन् आवश्यकता (नीड) र चाहना (डिजायर)। आवश्यकता पुरा गर्न सकिन्छ तर व्यक्तिको चाहना कहिल्यै पुरा हुंदैन। महत्वाकांक्षाको दौडमा केही चलाख व्यक्ति अगाडि बढ्छन्, अरु बाँकीमा निराशा छाउँछ।’ स्वामीले मानिसको तृष्णालाई आध्यात्मिकरुपले मात्र शान्त गर्न सकिए पनि भौतिकरुपले त्यो सम्भव नभएको बताए ।
उनले अगाडि थपे, ‘मानिस सुखी बन्नका लागि भोलि पर्खनै पर्दैन, तपाईंसँग अहिले जे छ, आनन्दित बन्नका लागि त्यही नै पर्याप्त छ। खाली जीवन जीउने कला जाने पुग्छ ।’प्रत्येक प्राणीको आकांक्षा सुखी र आनन्दित बनौं भन्ने रहेको उल्लेख गर्दै उनले आज सुखी नहुने मानिस भविष्यमा कहिल्यै पनि सुखी बन्न नसक्ने दावी गरे ।
सन् १८८६ मा छापएिको रुसी साहित्यकार लियो टोल्सटोयको ‘मानिसलाई कति जमीन चाहिन्छ?’भन्ने कथाको प्रसंग उप्काउँदै स्वामी अरुणले भने, ‘आखिरमा हामी सबैलाई चाहिने त मरेपछि समाधी दिनकालागि त्यही ६ फिट जमीन नै रहेछ।’
गएको दश वर्षदेखि ब्रिटेनमा ध्यान शिविर सञ्चालन गर्दै आएका स्वामी अरुणले बिहीबार, ३० जुनदेखि आइतबार, ३ जुलाई सम्म डर्सेटस्थित ओशो लीलामा तीन दिवसीय ध्यान शिविर सञ्चालन गर्ने आयोजकले बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...