वर्तमान गठबन्धन सहयात्री सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।
जम्मा ३३४ संसद रहेको गठबन्धनमा माओवादी केन्द्रका ८२ सांसद घटेपछि २५२ जनाको मात्र सरकारलाई समर्थन छ।
संसदीय प्रणालीमा सरकार अल्पमत मतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार निर्माणको ढोका खोलिदिने सामान्य चलन हुन्छ।
ओलीको दल नेकपा एमाले कै कतिपय नेताले प्रधानमन्त्रीले राजीनामा दिएर प्रतिपक्षमा बस्दा संसदीय प्रणाली र पार्टीको इज्जत बढ्ने तर्क गरेका छन्।
तर प्रधानमन्त्री ओली र उनका सहयोगीले सरकारबाट राजीनामा नदिने, बरु अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने कुरा बताइरहेका छन्।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच भएको दुई घण्टा लामो छलफलका क्रममा पनि ओलीले दाहाललाई भनेका थिए , ‘म कसैलाई सत्ता किस्तीमा राखेर हस्तान्तरण गर्दिनँ।’
गत वैशाखमा एमालेले संसदीय नियमावालीको अभावमा नयाँ सरकार निर्माणका निम्ति प्रक्रियागत जटिलता रहेको कुरा उठाएको थियो, तर अहिले नियमावली बनिसकेकाले अब उक्त मुद्धा पनि छैन।
आखिर, किन यस्तो अडान लिए प्रधानमन्त्री ओलीले ?
एमालेको हिजो भएको स्थायी समितिमा प्रधानमन्त्री ओलीले राजीनामा दिने कि संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भन्नेबारे कुनै छलफल भएन।
तर, अब आफूले कुन बाटो लिने भन्ने बारे केही संकेतचाहिँ दिए। एमाले स्थायी समितिका एक सदस्यका अनुसार ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रमा अन्तरपार्टी द्वन्द्व रहेको बताएका थिए।
‘राजीनामा दिने कि संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने भन्नेबारे स्थायी समितिमा कुनै छलफल भएन,’ उनले सेतोपाटीसँग भने, ‘कांग्रेस र माओवादी पार्टी भित्र अन्तरविरोध रहेकाले अझै केही समय पर्ख र हेरको नीतिमा रहेको उहाँले संकत गर्नुभयो।’
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अहिलेको कांग्रेस-माओवादी गठबन्धन प्रक्रियामा सामेल भएका थिएनन् र उनी अहिलेको प्रक्रियाबाट असन्तुष्ट रहेको पार्टीका केही नेताहरुले बताएका छन्। यसअघि गत वैशाखमा कांग्रेससँग मिलेर सरकार गठन गर्ने पार्टीको निर्णयमा सरकारका मन्त्रीहरू टोपबहादुर रायमाझी, शक्ति बस्नेत, अग्नि सापकोटा लगायत नेताहरू विरोध गरेका थिए।
स्रोतका अनुसार ओलीले नेपाली कांग्रेसका अर्का नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्न सक्ने सन्देश पठाएका थिए।
पौडेलले आज भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष शेरबहादुर देउवाले छलफल नै नगरी माओवादी नेतृत्वको सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको भन्दै असन्तोष व्यक्त गरेका थिए।
तर राजनीतिक घटनाक्रम ओलीको रणनीतिअनुसार अघि नबढेको देखिन्छ। माओवादी मन्त्रीहरूले प्रधानमन्त्री ओली समक्ष एकमुष्ट राजीनामा बुझाए। पार्टी नेताहरूका अनुसार ओलीले जवाफमा ‘तपाईँले गल्ती गर्दै हुनुहुन्छ’ भनेका थिए।
उता कांग्रेसको केन्द्रीय समितिले पनि माओवादी कै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ। नयाँ सरकार निर्माण कांग्रेसअघि बढिसकेकाले रामचन्द्र पौडेललेको असन्तुष्टि सम्बोधन हुने अवस्था देखिँदैन।


0 comments
प्रतिक्रिया दिनुहोस्...