-->
लर्ड्समा आज नेपाली क्रिकेट टोलीले विश्वकै पुरानो क्लबसँग खेल्ने

काठमाडौं, साउन ४ – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार विश्वकै पुरोनो क्लब मेरिलिबोन क्रिकेट क्लब एमसिसीसँग खेल्दैछ । नेपाल र बेलायतबिच मित्रवत सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा खेल हुन लागेको हो । 
बेलायतको लर्ड्स मैदानमा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ । नेपाली टोलीले क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा पहिलो पटक खेल्न लागेको हो । लर्ड्समा खेल्न पाउनु आफूहरुका लागि खेल जीवनकै सबै भन्दा ठूलो उपलब्धी मध्ये एक रहेको नेपाली क्रिकेट टोलीका सदस्यले बताएका छन् । 
नेपाली टोलीले बेलायत भ्रमणको क्रममा अहिलेसम्म स्थानीय चार क्लबसँग भएका खेलमा जित हात पारेको छ । लर्ड्स मैदानमा हुने खेलमा नेपाली टोली उच्च मनोबलका साथ उत्रनेछ । नेपाली टोलीले आइतबार राति भएको एक दिवसीय खेलमा इस्टबर्नलाई एक सय ८१ रन तथा शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । 
यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा इन्डियन जिमखानालाई २० रनले हराएको नेपाली टोलीले बुधबार भएको ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई एक सय २९ रनले हराएको थियो । नेपाली टोली नेदरल्याण्डससँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका लागि बेलायत गएको हो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.