बुढीगण्डकी नदीमाथि भित्तामै टाँसेर बनाइयो पुल
गोरखा, असार ११ - गोरखाको केरौंजा गाविसको यारुबगरमा भित्तामा जोडेर (क्यान्टिलिभर) पुल निर्माण गरिएपछि आवतजावत गर्न सजिलो भएको छ ।
बुढीगण्डकी नदीमाथि पहरा खोपेर बनाइएको क्यान्टिलिभर पुल नेपालमै पहिलो पटक बनाइएको हो । बेलायती सहयोग नियोग डिएफआइडीको ३ करोड ७५ लाख रुपैयाँको लागतमा
बुढीगण्डकी नदीमाथि १ सय ९५ मिटर लामो क्यान्टिलिभर पुल निर्माण भएकोे हो । पुल निर्माण गर्न दुई महिना लागेको थियो । २०७२ साल वैशाखमा गएको भूकम्पपछि पहिरो जाँदा बुढीगण्डकी
नदीले धार परिवर्तन गरेपछि गोरखाका उत्तरी ८ गाविसमा यातायात अवरुद्ध भएको थियो । पुल निर्माणसँगै गोरखाको उत्तरी ८ वटा गाविसलाई आवतजावत सहज भएको छ । पुल निर्माणपछि मनासलु पदमार्ग जाने
बाटो पनि खुलेको छ । यो बाटो हुँदै वार्षिक झण्डै ५ हजार पर्यटक मनासलु जाने गर्दछन् । पुलको औपचारिक उद्घाटन भने आगामी अगस्टमा गरिनेछ । मनासलु पदयात्रा मार्ग अन्तर्गत चुम्चेत गाविसको सर्दिखोलामा
पनि यस्तै पुल निर्माण गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पहिरोका कारण चुम्चेतको बाटोमा पनि क्षति पुगेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...