असार १६, २०७३- चीन र नेपालबीच भएको सहमति अनुसार, २५ दिनलाई खुलेको कोरला नाका चीनले एकतर्फी रुपमा १६ दिनमै बन्द गरिदिएको छ । सुरक्षाको कारण देखाएर किनमेलका लागि लागेको व्यापारिक मेला बिहीबारदेखि पूर्ण रुपमा बन्द भएको छ । आजै साँझ ५ बजेदेखि चीनतर्फको मुलगेटमा ताला लाग्नेछ ।
असार १ गतेदेखि चीनतर्फ लागेको व्यापारिक मेलाका लागि २५ दिनलाई सिमाना खुल्ला गर्ने भनिएको थियो । नेपालीलाई २५ दिन अबधिभर कुनै भिषा आवश्यक नपर्ने गरि नाका खुला गरिएको थियो । यो विषयमा जेठमै दुवै तर्फका सिमा प्रसाशनका अधिकारी, स्थानीय व्यापारी र सुरक्षाकर्मीबीच मौखिक सहमति भएको थियो ।
उक्त सहमतिको आधारमा गत वर्ष एक साता मात्र लाग्ने मेला अबधि बढाएर यसपाली २५ दिनलाई पुर्याइएको थियो । तर, दलाई लामाको 'तस्बिर टाँसेका व्यक्ति र भारतीयमूल' का केही मानिसको प्रवेश गरेको भन्दै चिनियाँ सुरक्षा अधिकारीले ९ दिन अगावै सिमाना बन्द गरिदिएको व्यापारीहरुले जनाएका छन् ।
दलाई लामालाई यस क्षेत्रमा धर्म गुरुको रुपमा श्रद्धा गर्छन् । तर, चिनियाँ अधिकारीहरुले लामाको चेला वा अनुयायी हो भन्ने जानकारी पाउने वित्तिकै सिमाना प्रवेश गर्न दिँदैनन् । सिमानाबाट ७ किमी चीन तर्फ समथर भूभागमा मेला लागेका थियो । यहाँको ढुंग्वासेन बजार भन्दा केही वर लागेको मेलामा स्थानीयले १६ दिनदेखि आवश्यक सामान खरिद गर्दै आएका थिए ।
छिट्टै सिमाना बन्द भएपछि व्यापारिक कारोबार खासै भएन । केहीले २५ गतेसम्म मेला लाग्छ भनेर पर्खिए, तर १६ गते देखि नै बन्द गर्दा उनीहरु निरास बनेका थिए । हामीलाई कुनै कारण नभनीकनै सिमाना बन्द गरिदिएको लोमान्थाङका गाविस सचिव ज्ञानेन्द्र विष्टले बताए । 'खै के कारणले बन्द गरियो, केहि जानकारी नै पाउन सकिएन,' उनले भने ।
किनमेलमा स्थानीयको उत्साह भएपनि धेरै कारोबार भने हुन सकेन । नेपाल तर्फको सडक खराब भएको हुँदा ठूला व्यापारीहरु कोरला आउन नसकेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ सुरक्षा अधिकारीले सुरक्षामा कडाई गर्न थालेपछि एक साता मात्र किनमेल हुन पायो ।
त्यसपछि हरेक व्यक्तिलाई चीनका प्रहरीले खानतलासी गर्न थालेपछि नेपालबाट जानेको संख्यामा निकै कमी भयो । चीनले यो नाकालाई सुरक्षा संम्वेदनशील नाका घोषणा गरेर ३ महिनादेखि चिनियाँ सशस्त्र प्रहरी तैनाथ गरेको छ । तर, नेपालतर्फ भने सिमामा कुनै सुरक्षाकर्मीको उपस्थिती छैन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...