बझाङ, १६ असार– सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ ।
भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रेक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रेक्टरको दोस्रो, अपराह्न १२ बजेर ७ मिनेटमा २.८ रेक्टर स्केलको तेस्रो धक्का तथा बाँकी दुई वटा साना धक्का गएका थिए ।
बुधबार १६ पटक र बिहीबार पाँच पटक गरी २१ पटक धक्का गएको भूकम्प मापन केन्द्र सुुर्खेतका प्राविधिक सहायक तीर्थ दाहालले जानकारी दिए । उनले भने, ‘बुधबार २ बजेर ५५ मिनेटदेखि आज मध्याह्न १२ बजेर ७ मिनेटसम्म २१ वटा धक्का गएका हुन् ।’
बुधबार पहिलो धक्का २ बजेर ५५ मिनेटमा पाँच रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४.२ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३.८ रिक्टर स्केलको, ३ बजेर २९ मिनेटमा ३.६ रेक्टर स्केलको र साँझ ५ बजेर ५१ मिनेटमा २.८ रेक्टर स्केल लगायत १६ पटकसम्म गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘गोरखा भूकम्प’पछि देशभरि नै ससाना धक्का महसुस भइरहेकाले यसमा डराउनुपर्ने अवस्था नरहेको बताए ।
यो गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भए पनि डराउनुपर्ने अवस्था नरहेको तर सतर्क रहनुपर्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कुनै क्षति नभएको र अझै पनि क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताए। लगातारको धक्काले स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
भूकम्प जहिले पनि र जति बेला जान सक्ने भएकाले पूर्वतयारीका साथ बस्न स्थानीय प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...