काठमाडौं, १६ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लि.बीच प्रहरी कर्मचारीहरुको उक्त बैंकमा तलबी खाता खोली कारोबार गर्ने सम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रमेशशेखर बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल सरकारले स्वामित्व ग्रहण गरेको, बढी भौगोलिक क्षेत्र समेटेको र पुरानो बैँकसँग सम्पूर्ण प्रहरी कर्मचारी र उनीहरुको परिवारसमेत जोडिएको बताउँदै एउटा राम्रो कार्यको सुरुवात भएको उल्लेख गर्नुभयो । साथै उहाँले यसबाट प्रहरी कर्मचारीहरुको बचत गर्ने बानीमासमेत विकास हुने बताउनुभयो ।
समझदारीपत्रमा शुन्य मौज्दातमा खाता खोल्ने, जुनसुकै जिल्लाबाट खोलेको खातामा जुनसुकै स्थानबाट कारोबार गर्न र बन्द गर्न सकिने, सेवानिवृत्तसम्म खाता संचालन गर्न सकिने, बचत खातामा मौज्दात रहेको २ लाखसम्मको निक्षेप बिमा हुने, दुर्घटनाका कारण खातावालाको मृत्यु भएमा १ लाखसम्म बिमा उपलब्ध हुने लगायतका बुँदाहरु समेटिएको छ । यो सुविधा ६१ जिल्लामा तत्काल लागू गर्ने र अन्यमा क्रमश शाखा बिस्तार भएपछि लागू गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरी संगठनका कर्मचारीहरुको संस्थागत खाता खोल्न समझदारी भएको दिन बैङ्कको लागि ऐतिहासिक भएको बताउँदै गुणस्तरीय, छिटो, छरितो सेवा पु¥याउने, शैक्षिक तथा पारिवारिक कर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले धन्यबाद ज्ञापन गर्नेक्रममा समझदारीले प्रहरी कर्मचारीको तलब वितरणका सम्बन्धमा भएका जटिलता हटाउन मद्धत गर्ने बताउँदै यो सेवा तत्काल सुरु गरिने जानकारी दिनुभयो ।
समारोहमा प्रहरी अक्तिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...