-->
जनयुद्धको जग हटाएका मोहन बैद्यको जनविद्रोहको तयारीका निम्ति यस्ता छन् रणनीति

               
mohan-baidya-national-convension-768x383
काठमाडौं, । केहि समय अगाडी पुष्पकमल दाहाल राम बहादुर थापा सहित टिम एकतामा गएपछि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले जनबिद्रोहका निम्ति विभिन्न सात रणनीति अघि सारेका छन् ।

रामबहादुर थापा ‘बादल’सहितका अधिकांश नेता कार्यकर्ता छुट्टिएपछि क्रान्तिकारी माओवादीको राजधानीका भएको राष्ट्रिय भेलामा वैद्यले पेश गरेको दस्तावेजमा जनविद्रोहको तयारीका निम्ति सात रणनीति अघि सारेका छन् ।

‘अध्यक्षले जनविद्रोहका लागि तयारी गर्न मुल रणनीति र कार्यनीति अघि सार्नु भएको छ’, क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘जनविद्रोह नेपाली विशिष्टतामा आधारित हुनुपर्छ भन्ने नै दस्तावेजले स्पष्ट गरेको छ ।’ उनका अनुसार जनविद्रोह रसियन मोडल जस्तो पनि नहुने र माओकोजस्तो चिनियाँ मोडल अनुसार पनि नहुने वैद्यले स्पष्ट गरेका छन् । वैद्यले दस्तावेजमा जनविद्रोहको कार्यदिशालाई पार्टीको ‘सामरिक कार्यदिशा’का रुपमा ब्याख्या गरेका छन् ।

सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र दलाल तथा नोकरशाही पुँजीवादद्वारा भइरहेका समस्त शोषण, उत्पीडन एवम् प्रभुत्वको अन्त्य गरी दलाल तथा नोकरशाही पूँजीपति एवम् सामन्तवर्गीय राज्यसत्तालाई ध्वस्त पारी नयाँ जनवादी क्रान्तिको स्थापना गर्नु नै जनविद्रोहको लक्ष्य रहेको दस्तावेजमा उल्लेख गरिएको छ ।

जनविद्रोहको तयारीको निम्ति गाउँ र सहरको सम्बन्ध, स्थानीय केन्द्रीय कामको सम्बन्ध, संघर्षका विविध रुप, तीन जादुगरी हतियार, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक र अन्य कामबीचको सम्बन्धलाई उल्लेख गरिएको छ ।

वैद्यले तीन जादुगरी अतियारका रुपमा पार्टी, सेना र संयुक्त मोर्चालाई नै लिनुपर्ने उल्लेख गरिएको छ । क्रान्तिका लागि क्रान्तिकारी पार्टी, त्यसको नेतृत्वमा बलियो जुझारु शक्ति र संयुक्त मोर्चा अनिवार्य रुपमा आवश्यक हुनेमा जोड दिइएको छ । संघर्षको रुप शान्तिपूर्ण र गैरशान्तिपूर्ण दुवै हुने उल्लेख गरिएको छ । तर पनि गैरशान्तिपूर्ण संघर्षकै प्रमुख भूमिका हुने पनि दस्तावेजमा स्पष्ट गरिएको छ ।

वैद्यले जनविद्रोहको तयारी गर्नुपर्ने रणनीति अघि सारे पनि कहिलेसम्ममा जनविद्रोह गर्ने भन्ने किटान गरेका छैनन् । यसअघि जनयुद्धको जगमा जनविद्रोह भन्ने कार्यदिशालाई परिमार्जन गर्दै वैद्यले जनयुद्धको जग हटाएको भन्दै भेलाका कार्यकर्ताहरुले तीब्र असन्तुष्टी जनाएको स्रोतको भनाइ छ ।

नेपाली बिशेषतामा अधारित राजनैतिक तथा सामरिक कार्यदिशालाई बिकास गर्न सापेक्षित सफलता प्राप्त गरेको विद्यार्थी नेतासमेत रहेका क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सुरेश गौतमले बताए ।

क्रान्तिकारीहरु संगको ध्रुबीकरणलाई प्राथमिकतामा राख्नुका साथै बिगतका कमि कमजोरीहरुलाई सच्याउदै रुपान्तरणसहित पार्टी संगठनलाई सुदृढ र ब्यबस्थित गर्दै लैजाने भेलाले निश्कर्ष निकालेको गौतमले उल्लेख गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.