काठमाडौं, ११ असार । आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ ।
उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीको बुधबार दिनभरि वाहवाही पाए । लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिकप्रति यथोचित सम्मान पनि देखाए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यो घटना केही टाढाको थियो । तर नेपालसँग सीमा जोडिएको भारतको देहरादुनमा ठीक एक महिना अघि १० नेपाली श्रमिक एकै चिहान भएका थिए । ओडारभित्र कोचिएर । तर यो घटना राज्यको जानकारीमा पनि आएन । परिवारको पीडा पनि ओडारमै दबियो ।
जाजरकोट, रूकुम, सल्यान र बर्दियाबाट रोजगारीका लागि नेपाली देहरादुन पुगेका थिए ।
उनीहरूले देहरादुनको त्यूनी तहशिल क्षेत्रको जोडा भन्ने ठाउँमा भारत सरकारको परियोजनामा मजदुरी पाए ।
भारतीय प्रधानमन्त्रीका नाममा सुरू भएको ‘प्रधानमन्त्री ग्रामीण सडक योजना अन्तर्गत ‘इनोल–चातरा मोटर मार्ग’मा मजदुरी गर्दै केही साता उनीहरूले देहरादुनको त्युनीमा बिताएका थिए ।
भारत सरकार आफैंले निर्माण गरिरहेको यो सडकका लागि ४० भन्दा बढी नेपाली श्रमिक दैनिक ज्यालादारीमा काममा खटाइएका थिए ।
उनीहरूका लागि सडकछेउमै पाल टाँगेर बासको व्यवस्था मिलाइएको थियो ।
पहाडी भूभागमा बाटो खन्ने काम त्यसै पनि जोखिमपूर्ण त हो नै । दिनभरि काम गरेपनि रातिको समयमा हुने वर्षाको अत्यास कम पीडादायी हुन्न ।
जेठ ९ को मध्यरात त्यस क्षेत्रमा ठूलो आँधीबेहरी आयो । मजदुरको बाटो छेउको पाल हावाहुरीले उडाइदियो ।
ज्यान जोगाउन उनीहरू नजिकको ठूलो ढूंगामुनीको ओढारमा ओत लाग्न पुगे ।
देहरादुनका स्थानीय नेपाली मुलका भारतीय नागरिक गोरखा इन्टरनेशनल सोसियो कल्चरल फाउन्डेसनका अध्यक्ष सूर्यबहादुर साहीका अनुसार ओढार माथिको ढुंगो ओढारमा बजारियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...