-->
सरकारले काबुलमा मारिएका परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्दै

असार ९, २०७३- काबुलमा आतंककारी विस्फोटमा परेर ज्यान गुमाएका नेपालीका परिवारलाई अधिकतम क्षतिपूर्तिका लागि सरकारले कूटनीतिक पहल अघि बढाएको छ । नेपाल र्फकन चाहनेका लागि पनि तयारी थालिएको छ । तर, कतिपय अवैध रूपमा कार्यरतलाई भने फर्काउन त्यति सहज नभएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताए ।

परराष्ट्र मन्त्रालयमा महिला तथा बालबालिका, गृह, श्रम र पर्यटन मन्त्री र सुरक्षा निकायका प्रमुख सम्मिलित बैठकमा घटनाको समीक्षा र अबका रणनीतिबारे छलफल भएको छ । 'कामका समीक्षा र परिवारलाई क्षतिपूर्ति दिलाउनेबारे छलफल भयो,' मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, 'त्यहाँ रहेका अन्य नेपालीको सुरक्षाको अवस्था, घर र्फकन चाहनेलाई ल्याउने प्रबन्ध लगायतबारे पहल गर्ने कुरा भएको छ । तर यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुनुपर्नेछ ।'

घटनाको छानबिन गर्न आग्रह गरिसकेको नेपाल सरकारले कम्पनीसँग पाउनुपर्ने क्षतिपूर्तिको पहल पनि सँगै लगेको छ । घाइतेको उचित उपचारमा कुनै कमीकमजोरी हुन नदिन कूटनीतिक पहलमै उपचारका लागि घाइतेलाई एयर एम्बुलेन्सबाट नयाँदिल्ली ल्याइएकोबारे छलफलमा जानकारी गराइएको थियो ।

क्षतिपूर्तिका लागि क्यानडामा रहेको नेपाली दूतावासबाट पहल गर्न सरकारले निर्देशन दिइसकेको छ भने काबुल स्थित क्यानडेली दूतावास र दिल्लीस्थित नेपाल हेर्ने क्यानडेली दूतावाससमक्ष पनि यसबारे छलफल भएको छ । क्यानडामा रहेको नेपाली दूतावासले गैरआवासीय नेपालीलाई नेपालको भिसा दिने र अन्तर्राष्ट्रिय नागरिक उडडयन संगठन (आइकाओ) को कुनै बैठकमा सहभागी हुनेबाहेक अन्य सक्रियता नरहेको अवस्थामा उक्त दूतावासले यही समयमा प्रभावकारी काम गरेर देखाउनुपर्ने मन्त्रालयका एक अधिकारीले बताए ।
 
च्याङ्बाको शव आउँदै  

घाइते नुवाकोटका च्याङ्बा तामाङको बुधबार निधन भएपछि उनको शव बिहीबार दिल्ली आइपुगेको छ । दिल्लीमा रहेको शवलाई शुक्रबार काठमाडौं ल्याइने बताइएको छ ।(स्रोत कान्तिपुर) 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.