»
निर्वाचन क्षेत्र विकासको ३० लाख नदीमा डुब्यो
निर्वाचन क्षेत्र विकासको ३० लाख नदीमा डुब्यो
जुम्ला, असार ३१ – कर्णालीको सहायक नदी तिलामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ३० लाख रुपैयाँ चुर्लुम्म डुब्ने भएको छ ।
सदरमुकामबाट २० किलोमिटर टाढा कुडारी गाविस त्रिवेणीस्थित कुडारी–ताम्ती–टोप्ला हुँदै जाजरकोट जोड्न निर्माण गरिएको काठेपुल निर्माणको काम पूरा नहुँदै असारको भेलमा भासिएको छ ।
पुल भासिनु एकसाता अघि जुम्लाका सांसदले अनुगमन पनि गर्नु भएको थियो । अनुगमन पश्चात सांसदहरुले भुक्तानीका लागि सिफारिस गरेपछि उपभोक्ताको ११ लाख रुपैयाँ समितिको खातामा पठाइएको निमित्त स्थानीय विकास अधिकारी हिक्मतबहादुर महतले जानकारी दिनुभयो ।
निमित्त स्थानीय विकास अधिकारी महतले निर्माण कार्य पूरा नहुँदै पुल बर्बाद अवस्थामा पुग्नुमा राजनीतिक दल र सांसदहरुको कमजोरी रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक वर्षअघि पनि काठेपूल निर्माणका विषयमा जिल्लास्थित राजनैतिक दल, र्याप थ्री, सडक,
भवन डिभिजन बसेर छलफल भएको थियो, त्यसमा मैले तिलानदीमा काठे पूल निर्माण हुनै नसक्ने जिकिर गर्दा दलहरुले मलाई नकरात्मक दृष्टिले हेरे । यसका लागि उनीहरुले निकै दबाब पनि दिए तर मैले मेरो हात काटेर गर्न नहुने अडान राखे ।’
पछि प्रमुख जिल्ला इञ्जिनियर हरिप्रसाद शर्माको पालामा दलगत रुपमा कुडारीमा काठेपुल निर्माण गर्ने निर्णय भई सम्झौता भइसकेको उहाँको भनाई थियो । उहाँले आफू गएको चैत्र १७ गते जुम्लामा हाजिर भएको र फागुनमा योजना सम्झौता भई उपभोक्ताले काम गरेको साथै सांसदसहित सबैले अनुगमन गरी भुक्तानी दिने सिफारिस गरेकाले आफूले भुक्तानी दिएको बताउनुभयो ।
तथापि समितिको खाता रोक्का गरिएको र त्यसको फुक्का गर्न प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिविस, राजनीतिक दल, उपभोक्ता समिति बसेर निर्णय निकाल्ने जिविस जुम्लाले जनाएको छ ।
जिल्ला विकास समिति जुम्लाले पुल निर्माणका लागि उपभोक्ता समितिसँग जनश्रमदान सहित ३५ लाख ३७ हजार रुपैयाँमा गएको फागुन २७ गते सम्झौता गरेको थियो । पुल निर्माण समितिले सम्झौता भन्दा बढी काम गरेको समितिका अध्यक्ष नन्दबहादुर शाहीले जानकारी दिनुभयो ।
अध्यक्ष शाहीले सांसदहरुले बजेट विनियोजनमा कञ्जुस्याइँ गर्दा भनेजस्तो योजना हुन नसकेको र सामान्यतः काम ढिलो सुरु हुँदा वर्षातले धोका दिएको बताउनुभयो । काठको पुल निर्माणका लागि १७ वटा देवदारका रुख प्रयोग गरेको समितिले जनाएको छ ।
काम सम्पन्न नहुँदै पुल बगेपछि जनताको रकम खोलामै समाप्त भएको स्थानीय बासिन्दाले दुःखेसो पोखेका छन् । ujyaalo 90 network
0 comments
प्रतिक्रिया दिनुहोस्...