-->
अलैँची बेर्ना बेचेर लाखाँै आम्दानी गर्दै कृषक

असार ३१, लमजुङ । उत्तरी लमजुङको भोजे–८, घाम्राङका ३२ वर्षिय ईश्वर बहादुर गुरुङ यतिबेला आधुनिक अलैँची नर्सरीबाट अलैँची बेर्ना बेच्न व्यस्त छन् । यो समय अलैँची लगाउने समय भएकाले पनि गुरुङलाई भ्याइनभ्याइ छ । एक लाख २० हजार बेर्ना लगाएका गुरुङले हालसम्म एक लाख १० हजार बेर्ना बिक्री भइसकेको बताए । ‘एक बेर्ना बराबर १२ रुपैयाँ लिने गर्छु, उनले भने, ‘विगतको वर्षहरुमा भन्दा अहिले अलैँची बेर्नाको माग अत्याधिक छ ।’
एक लाख १० हजार बेर्ना बिक्री गरिसकेका गुरुङले १३ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको बताए । ‘विगतका वर्षमा अलैँची बेर्ना बिक्री गर्न समस्या हुन्थ्यो तर अहिले बेर्नाको उच्च माग छ ’, गुरुङले भने । अन्य खेतीभन्दा अलैँची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ आकर्षित भएको उनले बताए ।गुरुङले अहिले आधुनिक तरकारी नर्सरी समेत गर्दै आएका छन् । उनले आधुनिक तरकारी नर्सरीमा गोलभेँडा, करेला, भण्टा, खुर्सानी लगायतका तरकारी बेर्ना उमार्ने गरेका छन् । आधुनिक नर्सरी प्रविधिबाट बेर्ना उत्पादन गर्दा, कोकोपिट (नरिवलको जटा) मा भर्मी कम्पोष्ट मलको प्रयोग गरी बेर्ना उमार्ने गरेको उनले बताए ।
गुरुङले ४ वर्ष अगाडी जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा २ केजी बिउ लगेर अलैँची बेर्ना उत्पादन गर्न थालेका हुन् । गुरुङ्ले दश रोपनी क्षेत्रफल जमिनमा अलैँची खेती विस्तार गरेका छन् ।
गुरुङ मात्र होइन यतिबेला जिल्लाका अन्य स्थानका यूवा कृषकहरु समेत अलैँची खेतीतर्फ आकर्षित भएका छन् । अलैँची खेतीका लागि बिरुवाको माग उच्च रहेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । कार्यालयका अनुसार किसानहरुले यस वर्ष ३५ लाख बिरुवा माग गरेका छन् । लमजुङ बाहेक जाजरकोट, दैलेख, बझाङ, सुर्खेत लगायतका जिल्लाका किसानले पनि १० लाख अलैँचीको बिरुवा माग गरेको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए । उनका अनुसार, जिल्लाका सिउरुङ, भुलभुले, खाँचे, छिनखोला, भोंजे, घाम्राङ, पसगाउँ, गहते, फलेनी लगायत क्षेत्रमा बिरुवा उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयले आगामी वर्ष जिल्लामा थप ५० लाख अलैँचीका बिरुवा विस्तार गर्ने योजना बनाएको छ । अलैँची व्यवसायी सङ्घका अध्यक्ष अजय तामाङका अनुसार यसवर्ष प्रति किलो १ हजार ८ सयदेखि २ हजार १ सय ५० रुपियाँसम्म अलैँची बिक्री भएको छ ।
नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङले अलैँची बिरुवाको मूल्य १२ रुपियाँ निर्धारण गरेको छ । करीब ८ सयदेखि १७ सय मिटर उचाइमा हुने अलैँची गर्मी र जाडोमा दुवै मौसममा हुने गर्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैँची उत्पादन हुँदै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.