श्रावण ५, २०७३- नेपाल भित्रिने खाना पकाउने ग्यास (एलपीजी) यहींका बुलेटमार्फत ढुवानी हुने भएको छ । बुलेट खरिदका लागि नेपाल आयल निगमले मंगलबार उद्योगहरूलाई आधिकारिक पत्र दिएपछि बाटो खुलेको हो । ‘बुलेट खरिद गर्न निगमबाट चिठी लिएका छौं,’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे भने, ‘आजैबाट बुलेट किन्ने, बनाउने प्रक्रिया सुरु भयो ।’ संघले ७ सय ७५ बुलेट खरिद गर्ने छ । मगलबार ६ सय बुलेटका लागि पत्र बुझेको हो ।
निगमका अनुसार अहिले ५ सय २३ वटा बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । ती बुलेटहरू भारतीय ट्रान्सपोर्टरका हुन् । तीमध्ये करिब १० प्रतिशत बिग्रेका र प्रयोगविहीन छन् । ग्यासको माग र खपत बर्सेनि बढ्दै गएकाले बुलेट थप्न आवश्यक रहेको व्यवसायीहरूले माग गर्दै आएका थिए ।
आफ्नै बुलेट नहुँदा भारतीय ट्रान्सर्पोटरमार्फत सास्ती खेप्नुपरेको गुनासो उद्योगीहरूको रहदै आएको छ । सँगसँगै ढुवानीबाट ठूलो रकम बाहिरिन थालेपछि निगमले ग्यास कम्पनीलाई ग्यास बुलेट खरिद गर्न स्वीकृति दिएको हो । निगमले २०७२ असोज ५ गते स्वदेशी बुलेट राख्ने निर्णय गरेको थियो । २०७२ असोज ८ गते पत्रपत्रिकामा सूचना प्रकाशित गरेको थियो । सोहीअनुसार कुनकुन उद्योग र कति परिमाणमा बनाउनका लागि संघलाई जिम्मा दिएको थियो ।
२०७३ असार २४ गते सबै उद्योगको नाममा दिने निर्णय गरेको हो । ‘६ सय बुलेटमध्ये उद्योग र परिमाणको वर्गीकरण गरिसकेका छौं,’ घिमिरेले भने । घिमिरेले उद्योगको मासिक ग्यास कोटा, दूरीका आधारमा बुलेट खरिद वितरण गरेको बताए । सबैभन्दा बढी नेपाल ग्यास उद्योग प्रालिको नाममा छ । संघको तथ्यांकअनुसार नेपाल ग्यासले ५० वटा बुलेट खरिद गर्न पाउने छ । दोस्रोमा कोसी ग्यास उद्योगलाई दिइएको छ । कोसी ग्यासले ४५ वटा बुलेट किन्न पाउने छ । भेरी ग्यास उद्योगले १५, एभरेस्ट ग्यास उद्योगको नाममा २३, गीता ग्यास उद्योगले ९ वटा बुलेट खरिद गर्न सक्ने संघले जनाएको छ ।
गृहलक्ष्मी ग्यास उद्योगले २१, जानकी ग्यास उद्योगले १५, कन्काई ग्यास उद्योगले १०, लियो ग्यास उद्योगले ९, मनोज ग्यास उद्योगले १४ वटा बुलेट खरिद गर्न पाउने छन् । यस्तै, मनकामना ग्यास उद्योगले १४, मारूतीले १६, मेचीले १४, नारायणी ग्यासले १४ । नेपाल ग्यास नारायणीले २०, नोबेल ग्यास उद्योगले १०, पञ्चमहालक्ष्मी ग्यास उद्योगले १० बुलेट खरिद गर्न पाउने छन् ।
पराजुली एन्ड ब्रोदर ग्यास उद्योगले १०, प्रिमा ग्यासले १४, राप्ती ग्यासले ८, रिजालको भान्छाले १०, रोयल मल्टी लुकले १२, सगरमाथा ग्यास उद्योगले २५ वटा बुलेट खरिद गर्न पाउने संघले जनाएको छ । संघका अनुसार साहारा ग्यास उद्योगले १०, श्रीराम ग्यास उद्योगले १५, सत्यनारायण ग्यास उद्योगले १०, सुगम कामख्याले १०, सुगम ग्यास उद्योगले १०, सुपरले ९, श्रीबेणीले ९, चण्डेश्वरीले ९, बुटबल ग्यासले ९, आरतीले ७, जगदम्बा ग्यास उद्योगले ५, भानु ग्यासले १५ र ओम ग्यास उद्योगले १७ वटा बुलेट खरिद गर्न पाउने छन् ।
ती बुलेटहरू भारत र चीनबाट ल्याइने अध्यक्ष घिमिरेले बताए । अहिले भारतका ७ वटा ट्रान्सपोर्टरबाट भाडामा लिएर ग्यास ढुवानी हुन्छ । एक बुलेटमा १८ टन ग्यास हुन्छ । त्यसबाट साढे १२ सय सिलिन्डर ग्यास हुन्छ । संघले २१ टन ग्यास बोक्न सक्ने बुलेट बनाउने जनाएको छ ।
‘स्वीकृति पनि २१ टनकै पाएका छौं,’ घमिरेले भने, ‘ठूलो बुलेट हुँदा आपूर्तिमा केही सहजता ल्याउँछ ।’ एउटा बुलेट खरिद गर्न ६५ लाखदेखि ७० लाख रूपैयाँसम्म लाग्ने संघले जनाएको छ । नेपाली बुलेट खरिदका लागि सरकारले दुई तिहाइ भन्सार छुट दिएकाले केही सस्तो परेको हो ।
निगमले ग्यासको मासिक कोटा ३७ हजार टन ग्यास तोकेको छ । सोहीअनुसार ग्यास उद्योगीले निगमबाट ग्यास खरिद अनुमति ९पीडीओ० लिएर भारतीय आयल कर्पोरेसन (आईओसी) को हल्दिया, मथुरा, बरौनी, कर्नाल रिफाइनेरीबाट आयात गर्दै आएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...