मेसी, म्याराडोना र नेपाल
असार १८, २०७३- नेपाल र अर्जेन्टिनाबीच फुटबल खेल भयो भने के होला ? विश्व फुटबलको ढाँचा हेर्दा यो सम्भवजस्तै छैन । कहाँ विश्व फुटबलको नम्बर १ टिम । कहाँ फिफा वरीयताको पुछारतिर रहेको नेपाल । अर्जेन्टिनी खेलाडी लियोनल मेसीले सन्यास लिएपछि पूरा विश्व नै यसको बहसमा उत्रेको छ । मेसीले किन संन्यास लिए, के कारणले लिए, सबै यसको विवेचना गर्न व्यस्त छन् । नेपाल मात्र कहाँ अपवाद हुन सकेको छ र ?
यही प्रसङ्गमा हो, त्यो प्रश्न, नेपाल र अर्जेन्टिनाबीच फुटबल भयो भने ? घुमीफिरी तिनै मेसी, अर्का अर्जेन्टिनी पूर्वखेलाडी डिएगो म्याराडोना, अनि नेपालबीच गजबको फुटबल समीकरण तयार हुन्छ । सबैभन्दा पहिले मेसीकै प्रसङ्ग । कोपा अमेरिकाको शताब्दी संस्करणको फाइनलमा अर्जेन्टिना चिलीसँग हारेपछि मेसीलाई अथाह पीडा भएको हुनुपर्छ । कम्तीमा खेलपछिका उनका तस्बिरले यस्तै देखाउँछ । अहिलेको आधुनिक फुटबलमा मेसी सबैभन्दा राम्रा खेलाडीमध्येका एक हुन् ।
त्यो पनि निर्विवाद रूपमा । मेसी फुटबल के खेल्छन्, जादू गर्छन् भन्ने धेरै छन् । यिनै मेसीले आफ्नो एक मात्र क्लब बार्सिलोनाका लागि सबथोक जिते । ला लिगा, कोपा डे रे, युरोपेली च्याम्पियन्स लिग के मात्र जितेनन् ? यसै कारण उनी पाँचपल्ट विश्वका उत्कृष्ट खेलाडी पनि घोषित भइसकेका छन् । तिनै मेसीले आफ्नो देश अर्जेन्टिनाका लागि भने केही जित्न सकेका छैनन्, ठूलो स्तरमा । उनी उपाधिको नजिक नपुगेका पनि होइनन् । चारपल्ट फाइनल पुगे । तीनपल्ट कोपा अमेरिकाको फाइनल । एकपल्ट विश्वकपको फाइनल । त्यसपछि अर्जेन्टिनाले पछिल्ला तीन ठूला प्रतियोगिताको फाइनल खेलेको छ । दुई कोपामा । एक विश्वकपमा । तर प्रत्येकपल्ट अर्जेन्टिना फाइनलमा पराजित रह्यो । कोपाका पछिल्ला दुई फाइनलको कथा उस्तै रह्यो । दुवै अवसरमा अर्जेन्टिना चिलीसँग हारेको थियो । दुवै अवसरमा अर्जेन्टिना टाइब्रेकरमा निराश हुनुपरेको थियो ।
यसपल्ट अति नै भयो । मेसी पेनाल्टीमै चुके । सायद मेसी सपनामा पनि पेनाल्टीमा चुक्दैन होलान्, तर त्यो दिन उनको प्रहार पोस्टको दिशा नलिएर बाहिरियो । त्यो बल के बाहिरियो, खेल सकेको केही समयमै खबर आयो, मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । अर्थात् मेसीले फेरि आकासे र सेतो रंगको धर्सो–धर्सो भएको अर्जेन्टिनी जर्सी लगाउने छैनन् । अब के चाहियो, पूरा विश्व मेसीको समर्थन र विरोधमा उत्रिहाले । केही भने मेसीले संन्यास फिर्ता लिनुपर्छ भन्नेमा थिए/छन् ।
अमेरिकामा कोपा खेलेर फर्केयता मेसी ‘अन्डरग्रान्उन्ड’ जस्तै भएका छन् । अर्जेन्टिनी मिडियाले पनि उनलाई खोज्न सकिरहेको छैन । यसैबीच अर्जेन्टिना मेसीको संन्यासलाई लिएर चलेको बहस राष्ट्रियताको मुद्दा बनेको छ । एकथरी के भन्छन् भने मेसी खासमा अर्जेन्टिनी नै होइनन् । कसैले अर्जेन्टिनाको खेलमा उसको राष्ट्रिय गीत बज्दा मेसीले आवाज दिएको देखेको छ त ? छैन, किनभने उनी खासमा क्याटलान हुन् । अर्थात् मेसी बार्सिलोनाका हुन् । त्यो फेरि स्पेनी हुनु होइन ।
सानोमै शरीर बढ्दै नबढ्ने रोग लागेपछि मेसीले अर्जेन्टिना छाडे । उनी १२ वर्षका मात्र थिए । बार्सिलोनाले मेसीको उपचारको खर्च उठाउने भएको थियो । पछि मेसी बार्सिलोनाकै एकेडेमी ला मासियामा हुर्के । बढे । फुटबल सिके । अनि निकै राम्रा खेलाडी बने । मेसीलाई बार्सिलोना र त्यहाँको क्याटलान राष्ट्रियता खुबै मन पर्छ । त्यसैले रियल म्याड्रिड हार्दा धेरै खुसीमा मेसी पनि पर्छन् । तर मेसीमा अर्जेन्टिनाबारे यस्तो धारणा खासै छैन भन्ने धेरै छन् ।
अर्काथरी अर्जेन्टिनी यो मान्ने पक्षमा छैनन् । उनीहरू भन्छन्, आखिरमा मेसी भगवान् त होइनन् नि, खेल्यो कि सबै जित्ने । पछिल्लो समय अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिताको फाइनल पुगेको थियो । त्यसमा सबैभन्दा ठूलो हात मेसीकै थियो । फाइनल हार्यो त हार्यो नि । दोस्रो हुनु के नराम्रोसँग हार्नु हो त ? कोपा खेलमा अर्जेन्टिनी टिम अमेरिका जानुअगाडि म्याराडोनाले भनेका थिए, ‘जित्न सकेनौ भने घर पनि नफर्कनू ।’
अहिले तिनै म्याराडोना मेसीले संन्यास फिर्ता लिनुपर्छ भन्नेतिर छन् । मेसी राम्रो किन म्याराडोना, यो बहस अहिले ठीक नहोला । तर एउटा तथ्य के निश्चित छ भने मेसी निकै भलाद्मी खेलाडी हुन् । मेसीको व्यक्तित्वमा खोट लगाउने ठाउँ छैन । तर म्याराडोनाको व्यक्तित्व, खोट लगाउने ठाउँ खोज्नु पर्दैन, आफैं भेट्टिन्छ । खासमा म्याराडोना मान्छेका रूपमा निकै खराब छन् । तर तिनका विरोधमा कोही पनि अर्जेन्टिनी एक शब्द पनि सुन्न चाहँदैनन् ।
यस्तो किन भन्दा उनले अर्जेन्टिनाका लागि विश्वकप जितेका छन् । संयोग कस्तो भने म्याराडोना लगभग एक्लै अर्जेन्टिनाका लागि विश्वकप जितेको पनि ठीक यही बेला ३० वर्ष छोएको छ । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा म्याराडोनाले तहल्का नै मच्चाए । इङ्ल्यान्डविरुद्ध क्वाटरफाइनलमा उनका दुई गोल आखिर कसले बिर्सन सक्छ र ? पहिलो गोल म्याराडोनाले हातले गरेका थिए । त्यो जत्तिको विवादास्पद गोल विश्व फुटबलमै अरू कोही छैन ।
लगत्तै उनले इङ्ल्यान्डविरुद्ध दोस्रो गोल गरे, लगभग छ खेलाडीलाई छलाए । यो भने विश्व फुटबलकै अहिलेसम्मको नम्बर १ गोल हो । यो जत्तिको सुन्दर, अविश्वसनीय र सनसनीपूर्ण गोल कुनै छैन । म्याराडोनाको अर्जेन्टिनाले त्यो वर्ष के विश्वकप जिते, नेपाली फुटबल समर्थक भुतुक्कै यो टिमको जबरदस्त समर्थक बने । सन् १९८६ को विश्वकप नेपालमा एनटीभीले देखाएको पहिलो विश्वकप थियो । त्यो अर्थमा नेपालीको कोठा कोठा छिरेको पहिलो विश्वकप यही थियो ।
विश्व फुटबलमा अर्जेन्टिनी फुटबल नेपाली समर्थकको ‘फस्र्ट लभ’ भन्दा हुन्छ । त्यसै बेलादेखि नेपाली अर्जेन्टिनी समर्थक हुन थालेको, अहिलेसम्म त्यो जारी छ । दाबीजस्तै गर्न सकिन्छ, नेपालमा अर्जेन्टिनी टिमका समर्थक सबैभन्दा धेरै छन् । तिनलाई ‘डाइहार्ड’ फ्यान भन्दा हुन्छ । मेसीले यस्ता समर्थकको संख्या अझ बढाए । त्यसको प्रमुख कारण भने नेपालमा क्लब स्तरमा बार्सिलोनाका समर्थक धेरै हुुनु पनि हो । बार्सिलोना भनेपछि मेसी छुट्ने भएन नै ।
के यो सबै अर्जेन्टिना भन्ने देशलाई पनि थाहा छ र ! नेपालको अर्जेन्टिनी फुटबल प्रेम सुन्दा उनीहरू दंग पर्छन् । आश्चर्य मान्छन् । जतिले अर्जेन्टिनी फुटबलका कोही न कोहीलाई भेटेका छन्, सबै यस्तै भन्छन् । सन् २००७ मा ओमानी फुटबल टिम विश्वकप छनोटको खेल खेल्न नेपाल आएको थियो । त्यति बेला ओमानी टिमका प्रशिक्षक थिए, ग्याब्रियल क्याल्डारेन ।
यी क्याल्डारेन म्याराडोनका साथी खेलाडी हुन् । म्याराडोनासँगै उनले सन् १९८२ र १९९० को विश्वकप खेलेका थिए । उनलाई त्यही बेला सोधिएको थियो, ‘के तपाईंलाई थाहा छ, अर्जेन्टिनी फुटबललाई नेपालमा खुबै मन पराइन्छ ?’ उनी आश्चर्यमा परे । स्तब्धजस्तै देखिए । र, भने, ‘हो र ?’ हो नि । तर उनी के भन्न छुटेनन् भने धेरैभन्दा धेरै अर्जेन्टिनी नेपाल भनेपछि कम्तीमा खुसी भने देखिंदैनन् । केही त रिसाउने पनि होलान् । यसको एक मात्र कारण रहेको छ, फकल्यान्ड युद्ध । सन् १९८२ मा फकल्यान्ड टापुलाई लिएर अर्जेन्टिना र बेलायतबीच युद्ध नै छेडिएको थियो ।
युद्ध बेलायतको पक्षमा रह्यो । त्यसमा नायक भने रहे, नेपालका गोर्खाली योद्धा । बेलायतले युद्धमा गोर्खाली सैनिक उतारेपछि अर्जेन्टिनाको केही पनि चलेन । अहिलेसम्म पनि अर्जेन्टिनामा फकल्यान्ड मुद्दा सेलाएको छैन । समयसमयमा यो मुद्दा अझै ब्युँझाउने गर्छ । अनि तिनै अर्जेन्टिनीले गोर्खाली सेनाको नाममा नेपाललाई कसरी भुल्न सक्छन् र !
त्यही युद्धको पृष्ठभूमिमा सन् १९८६ को विश्वक क्वाटरफाइनलमा अर्जेन्टिना र इङ्ल्यान्डबीच खेल भएको थियो । झेल्ली म्याराडोनाले हातको मद्दतले गोल गरेपछि भनिहाले, ‘यो त भगवान्को हात हो ।’ हात त म्याराडोनाकै थियो, तर त्यही बेलादेखि उनलाई अर्जेन्टिनीले भने भगवान् मान्न थाले । हाम्रोतिर अचम्मको विश्वास पाइन्छ, म्याराडोनाले इङ्ल्यान्डलाई हराएपछि भनेका थिए रे, ‘धन्य त्यो दिनको खेलमा इङ्ल्यान्डबाट कोही गोर्खाली थिएनन् ।’
म्याराडोनाले यस्तै भनेका थिए भन्ने ठोकुवा नै गर्ने भने कोही पाइन्न । तर एकले अर्कोलाई भन्दा–भन्दा यो हो जस्तै सुनिन्छ । अनि नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलको प्रसङ्ग ? एकपल्ट यस्तो सम्भव भएको छ । सन् १९८३, फल्कल्यान्ड युद्ध सकेको एकपछि वर्षपछि नेपाल मर्डेकाकप खेल्न मलेसिया गएको थियो । लिग चरणको खेलमा नेपाल अर्जेन्टिनी टिमकै समूहमा परेको थियो । त्यो टिममा म्याराडोना त थिएनन्, तर उनका साथी खेलाडी भने थिए ।
त्यति बेला नेपालका तर्फबाट खेलेका खेलाडीको दाबी यस्तै छ । सेप्टेम्बर २६ तारिखको त्यस खेलमा नेपाल ३–० ले पराजित रह्यो । अर्जेन्टिना निकै बलियो टिम थियो, त्यो आधारमा यो हार ठीकै नतिजा थियो । मैदानमा दुवै टिमबीच एक खाले तनाव भने थियो । सायद त्यो त्यही फकल्यान्ड युद्धको छाया थियो । सायद अर्को कारण नेपाली खेलाडीको बठ्याइँ पनि । भएको के थियो भन्दा त्यो खेल खेल्न निस्कँदा दुवै टिम एउटै विमानमा उडेका थिए ।
नेपाली खेलाडीले आफ्ना अर्जेन्टिनी प्रतिद्वन्द्वीलाई हामी पनि कम छैनौं भनेर देखाउन एउटा जुक्ति निकालेछन् । उपहारका लागि लगेको सानो न सानो खुकुरी बोक्दै सबैले देख्न गरेर अर्जेन्टिनी टिमतिर ओहोरदोहोर गरे । अर्जेन्टिनी खेलाडीले त्यसको कारण बुझे अथवा बुझेनन्, कसैलाई थाहा छैन । तर नेपाली खेलाडीलाई भने पक्कापक्की विश्वास थियो, यसरी खुकुरी देखाउँदा अर्जेन्टिनी खेलाडी डराउनेछन्, जसरी फकल्यान्ड युद्धमा अर्जेन्टिनी सैनिक खुकुरी भिरेका गोर्खाली सेनासँग डराएका थिए ।
यी त सबै इतिहासका घटनाक्रम रहे । इतिहालले जस्तै भने पनि नेपालमा अर्जेन्टिनी फुटबलको माया उस्तै छ । अर्जेन्टिनी फुटबलप्रतिको त्यही मायाकै कारण नेपाली फुटबलको सर्वाधिक लोकप्रिय र सफल क्लब मनाङ मस्र्याङ्दीले पनि उस्तै आकाशे र सेतो रंगको धर्सो भएको जर्सी लगाएर नै खेल्छ । भन्नु पर्दैन, जति बेला म्याराडोना र अर्जेन्टिना विश्व फुटबलमा चम्केको थियो, मनाङ मस्र्याङ्दी त्यसैमा रमेको थियो । वास्तवमै गजब छ, मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण । ekantpur


0 comments
प्रतिक्रिया दिनुहोस्...