असार १७, २०७३- सामान्य नागरिक हुनुको दु:ख कहाँदेखि सुरु हुन्छ र त्यसको अन्त्य कहाँनेर हुन्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । विधि र नियम मान्नु नै अभिषाप हो भन्ने अुनभूति नागरिकले किन गर्छ ? के असल नागरिक हुनु नै सजाय पाउनु हो ? हाम्रो विधि र व्यवस्था किन समयभन्दा ढिलो छ ? सामान्य काममा पनि नागरिकहरुले किन असामान्य दु:ख पाउँछन् ? एउटा सरकारी कार्यालयमा एकजना नागरिकले खेपेको दु:ख र त्यस्तै अन्य नागरिकको अनुभूति हो यो ।
१३ असारमा मोटरसाइकल को लाइसेन्स रिन्यु गर्न यातायात व्यवस्था विभाग एकान्तकुना पुगेपछि थाहा भयो, सेवा लिन घन्टौं लाइनमा बसेका सेवाग्राही राज्यप्रति किन त्यतिसारो आक्रोश व्यक्त गर्छन् । विधि र व्यवस्थाप्रति अनि सरकारी कर्मचारीप्रति उनीहरु किन टेढा आँखा लगाउछन् ?
कोठा नम्बर १ : यहाँ रिन्यु गर्नका निम्ति आवश्यक फारम वितरण गरिन्छ । पाँच रुपैयाँमा पाइने यस्तो फारम लिन पनि सानोतिनो लाइनमा नबसी हुन्न । यही फारम कार्यालय बाहिरको खुद्रा पसल वा फोटोकपी गर्ने ठाउँमा चर्को मूल्यमा पाइन्छ । सरकारी कार्यालयले छापेको फारम ती ठाउँमा कसरी पुग्यो ? कसले पुर्यायो ? यसको उत्तर कसैसँग छैन् । उत्तर खोज्ने ठाउँमा बसेकाहरु अरु नै काममा व्यस्त छन् । ती दोकानमा फारम भरिदिएको, दस रुपैयाँको टिकट टासेको, लाइसेन्स र नागरिकताको फोटोकपी गरेको सय रुपियाँ शुल्क लिइन्छ ।
झ्याल नम्बर २ : स्वास्थ्य परीक्षणका निम्ति यो झ्यालमा स्वास्थ्य सेवा सहित ३८ रुपैयाँ शुल्क बुझाउनुपर्छ । यहाँ पनि सानोतिनो लाइन भइरहन्छ । ४० रुपियाँ दिनुभयो भने उनीहरुले बाँकी दुई रुपैयाँ फिर्ता गर्दैनन् । त्यसको सट्टा चकलेट दिन्छन् । चकलेट नलिई धरै छैन् । उनीहरुले जसलाई पनि रुखो स्वरमा भन्छन्, ‘खुद्रा छैन त के गरम्?’
झ्याल नम्बर ३ : कार्यालय दस बजे खुलेपछि यो झ्याल १०:१५ नभई खुल्दैन् । धेरै भिड हुने र समयमा पालो नआउने भएकाले सेवाग्राहीहरु भने बिहान नौ नबज्दैदेखि लाइनमा हुन्छन् । रिन्युका लागि भरेको फारम अनुसारको जानकारी यातायात व्यवस्था विभागमा छ वा छैन ? फारममा उल्लेखित तथ्य ठिक छ वा छैन भन्ने जाँच यो झ्यालभित्र गरिन्छ । खासमा यो झ्यालभित्र दुईवटा कर्मचारी हुनुपर्ने हो । तर एकजना मात्रै बस्छन् । त्यही भएर पनि पालो सर्न बहुतै मुस्किल पर्छ । त्यसमाथि पहुँचवालाले भीत्रबाट पनि उत्तिकै फारम चेक गर्न पठाउँछन् । त्यही भएर लाइनमा बस्नेको पालो छिटो सर्दैन् ।
कोठा नम्बर ५ : यहाँ फोटो खिच्ने काम हुन्छ । चार वटा कम्युटरमा वेब क्याम राखिएको छ र डिजिटल सिग्नेचर गर्ने काम हुन्छ । तर सामान्यतया चार वटै कम्युटरबाट सेवा प्रवाह भइरहेको देखिन्न । यो कोठाभीत्र छिर्ने लाइन मरीगए सर्दैन् । सरोस् पनि कसरी, लाइनमा बस्ने मान्छे भन्दा लाइन मिचेर फुत्त भित्र छिर्ने पहुँचवाला धेरै हुन्छन् । कोही दलालको हात पक्रेर भित्र छिरिरहेका हुन्छन, कोही विभागकै कर्मचारीको नाता साइनो गासेर । कोही भने ट्राफिक प्रहरीको हात पक्रेर लाइन मिच्दै भित्र छिर्छन । लाइनमा खुट्टा दुखाएर घन्टौंदेखि उभिएका सेवाग्राही भुतभुतिन्छन् । कोही च्याठिन्छन् । कोही नियम मिचेको टुलुटुलु हेर्छन् । मान्छेको भिडमा सबैको रिस र आवेग मिसिन्छ । सरकारप्रतिको चर्को निराशा, सेवा प्रवाहको परम्परागत शैलीप्रति लाइनमा उभिनेले रिसको आगो ओकलिरहेको भेटिन्छन् ।
लाइनमा नउभिएका धेरै मान्छे भित्र पुगेर गजधम्म बसिरहेका हुन्छन् । ठ्याक्कै एक घन्टा लाइनमा उभिँदा कतै नदेखिएका एक महानुभाव भित्र पुगिसकेका थिए । ठूलो भूँडी र चिल्लो तालु भएका तर सफेद पोसाक लगाएका ति मान्छेको अनुहार रातो पिरो थियो । खाइलाग्दो खालको । मैले तिनको अनुहारमा हेरें । हिनताको रंग कत्ति थिएन । उनी मखलेल भएझैं देखिन्थे । लाइनमा उभिंदा थाकेका मान्छेहरुका अनुहारमा बेग्लै चिढचिढाहट थियो । म सँगै उभिएका एक तन्नेरीले भने, ‘यो देशको ताल देखेर पनि यहाँ बस्न मन लाग्दैन् । नियम मान्ने भन्दा नमान्नेकै चुरीफुरी छ ।’ उनका भनाइमा प्रतिवाद जनाउनुपर्ने ठाउँ थिएन् ।
वेब क्यामबाट फोटो खिच्ने आफैंमा पुरानो तरिका थियो । त्यसले थप समय मात्रै खर्च भइरहेको थिएन । फोटोको गुणस्तरमाथि पनि शंका गर्ने ठाउँ थियो । यद्यपी काम मात्रै छिटो भइदिए सेवाग्राहीलाई लाख हुन्थ्यो ।
यो कोठाको बाहिर सोधपुक्ष कक्ष लेखिएको बोर्ड भएपनि न त्यहाँ सोधपुछ चलिरहेको थिएन । किनकी उत्तर दिने कोही कर्मचारी त्यहाँ थिएनन् । कर्मचारीको बिरक्तलाग्दो काम गराई देखेर होला मान्छेले उक्त कक्षको बाहिर रहेको फ्लेक्स र भित्तामा आफ्ना असन्तुष्टि लेखेका थिए । कसैले लेखेको थियो, ‘कम्युटरमा दक्ष मानिस राख ।’ अर्कोले लेखेको थियो, ‘राजश्व पाँच बजेसम्म लिनुपर्यो । कार्यालय समयसम्म ।’
कोठा ५ : स्वास्थ्य जाँच गर्ने यो कोठामा हरदम अव्यवस्थित लाइन हुन्छ । त्यस्तो लाइनमा दलालहरु आफुखुशी छिर्छन् र कसैले केही भन्यो खाउँला झै गर्छन् । फोटो खिच्ने ठाउमा देखिएका भूँडे सेवाग्राहीको सबै काम दलालले गरिदिएको रहेछ भन्ने यहाँ आइपुग्दा थाहा भयो । उनी म भन्दा छिटो भित्र पुगे । झण्डै बीस जना भित्र छिरेपछि बल्ल मेरो पालो आयो । रंगीचंगी कागज देखाएर त्यसमा लेखिएको अंक पढ्न लगाइनु नै स्वास्थ्य जाँच रहेछ । अंक पढेपछि डाक्टरले म स्वास्थ्यमा पास भएको विवरण कम्युटरमा लेख्यो । कति काइदाका स्वास्थ्य जाँच । कस्तो अनौठो तरिका ।
झ्याल ६ : यसअघि गरिएको प्रक्रिया ठिक छ छैन भनेर अन्तिम पल्ट जाँच गर्ने ठाउँ यही हो । यसमा पनि लामै लाइन थियो । काम सकेर म झण्डै २५ जना पछि लाइनमा लुरुक्क बसे । तर दलाल मार्फत सेवा लिएका सेवाग्राहीको फाइल बोकेर एउटा केटो उक्त झ्यालमा रुँघेर बसिसकेको थियो । निर्धो मान्छे पर्नेवित्तिकै पालो मिच्ने उसको दाउ थियो । हेर्दाहेर्दै त्यसले पालो मिच्यो । फाइल भित्र छिराइहाल्यो र काम सकेर अर्को झ्यालमा गयो । मेरो पालो भने झण्डै आधाघन्टा पछि आयो । लाइनमा अरु पनि दलालहरु सक्रिय थिए । तिनीहरु भित्रका कर्मचारीसँग झ्यालमै उभिएर के के जाती कुरा गरिरहेका देखिन्थे ।
पछि थाहा पाएँ, दुई हजार रुपियाँ शुल्क लिएर तिनीहरुले लाइसेन्स रिन्यु गर्ने काम गरिदिंदा रहेछन् । सेवा लिने प्रत्येक गौंडामा तिनका साथीहरु थिए । तिनीहरुको सक्रिय सञ्जालका अघि सेवाग्राहीहरु निरिह देखिन्थे ।
झ्याल ७ : यो झ्यालमा सबै फाइल बुझाएपछि रकम तिर्नको निम्ति रसिद काटिन्छ । दलालमार्फत सेवा लिएको मान्छे काम सकीवरी हिडिसकेको थियो । आठ/दस जना सेवाग्राही लाइनमा थिए । मैले फाइल बुझाएपछि अर्को झ्यालमा जान भनियो ।
झ्याल ८ : यो झयालमा पनि उस्तै लाइन थियो । केही बेरमा पालो आयो । भनेजति रकम तिरेपछि मेरो हातमा राजश्व तिरेको रसिद थमाइयो ।
झ्याल ९ : यो झ्यालमा सबै फाइल बुझाएपछि मात्रै काम सकिन्छ । यहाँ पनि सानो तिनो लाइन भई नै रहेको हुन्छ । फाइल बुझाएपछि राजश्व तिरेको रसिद र आफ्नो पुरानो लाइसेन्स फिर्ता पाइन्छ । कर्मचारीले भने, ‘एक महिनापछि डिजिटल कार्ड लिन आउनुहोला ।’ अर्थात बल्ल काम सकियो ।
अन्त्यमा : बिहान दस नबज्दै म कार्यालयमा पुगेको थिएँ । यति काम सक्दा ठ्याक्कै दुई बज्यो । यो बिचमा शौचालय जान पनि नपाइने जस्तो हुन्छ । किनकी तपाईंले लाइन छोडनुभयो भने, पछि परिहाल्नुहुन्छ । धन्न मैले लाइनमै चिनेजानेको मान्छे भेटे । उनैसँग अनुरोध गरेर दौडदै शौचालय खोज्दै हिडे । कार्यालयको परित्यक्त कुनामा मान्छेहरु नाक च्याप्प समात्दै र टाउको निहुराउँदै एउटा सानो टिनाको छाप्रोमुनी छिर्दै थिए । त्यही रहेछ शौचालय । शौचका बेला नाक समात्नै पर्ने नियम त कतै थिएन । तर च्याप्प नथुन्ने हो भने तपाईंलाई भित्रबाट बाहिर निस्कन हम्मे हम्मे पर्ने निश्चित थियो । अर्थात दुर्गन्धको कुनै हिसाब थिएन । तर पिसाब फेरेर बाहिर निस्केपछि भने पाँच रुपैयाँ शुल्क लिन एकजना बुढी आमै बसेकी थिइनँ । मैले सोधे, ‘शुल्क तिरेपछि त सफा ट्वाइलेट हुनुपर्यो नि आमै ।’ उनी च्याठिइन्, ‘यहाँ त यस्तै हो । राम्रो चाहिए घरै जानु ।’
मेरा केही साथीले लाइसेन्स रिन्यु गर्न पहुँचको प्रयोग गर्न सुझाएका थिए । तिनीहरुले मलाई नै माया गरेर त्यसो भनेका थिए । एक मनले त लागेको थियो, दलाललाई प्रयोग गरौं । अर्को मनले लागेको थियो, कुनै पहुँचवाला सरकारी कर्मचारी गुहारौं । तर मन मानेन । सामान्य मान्छेले कसरी सेवा पाउँदा रहेछन् भनेर पनि जान्न मन लाग्यो ।
काम सकेर निस्केपछि लाग्यो, के सामान्य सेवाग्राही हुनु मेरो अपराध हो । राज्यले तय गरेको नियम मान्दा किन लाइनमा बसिरहेका मान्छेहरु म जस्तै छटपटाइरहेका थिए ? किन उनीहरु सामान्य कामका निम्ति आधा दिन खर्चिनुपर्ने बाध्यतामा फसेका थिए ? के यो तिनीहरुले गरेको अपराधको सजाय थियो ? लाइनमा बसेका केहीले एउटै कुरा सुनाए, ‘एकैछिनका काम हुन्छ भनेर अफिसबाट बिदाई नलिई आइयो । आखिर सिंगो दिन खेर गयो ।’ अर्का एकले सुनाए, ‘यस्तो हुन्छ भन्ने जानेरै म त अफिस बिदा लिएरै आएको ।’
ती सेवाग्राहीको के अपराध थियो । लाइसेन्स रिन्यु गर्नेजस्तो सामान्य कामका निम्ति समेत चार देखि पाँच घन्टा खर्चिनुपर्ने थिति कसले बसालेको थियो ? प्रश्न हावामा तैरिरहेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...