असार ३१, २०७३- धापासी स्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण शल्यक्रिया शुरु भएको छ । यस अस्पतालले गत असार २७ गतेदेखी मृगौला प्रत्यारोपण शल्यक्रिया शुरु गरेको हो ।
अस्पतालले जारी गरेको बिज्ञप्ति अनुसार अस्पतालमा पहिलोपटक काठमाडौं गोकर्णेश्वर नगरपालिकाका रबिन लामाको मृगौला प्रत्यारोपण गरेको हो । उनलाई आफ्नै सहोदर बहिनी उमा लामाले मृगौला दान गरेकी थिइन ।
मृगौला प्रत्यारोपण शल्यक्रियाको नेतृत्व प्रा. डा. प्रेमराज ज्ञवालीले गरेका थिएभने नेफ्रोलोजी टिमको नेतृत्व प्रा. डा. दिव्या सिंह शाहले गरेकी थिइन् ।
मृगौला प्रत्यारोपणको टिममा डा. पवन राज चालीसे, डा. अनिल श्रेष्ठ, डा. भोजराज लुईटेल,डा. सुरेन्द्र बिक्रम अधिकारी, डा.उपेन्द्र जोशीको सहभागिता रहेको थियो ।
त्यसैगरी एनेस्थेसिया टिमको नेतृत्व डा. मुरारी राज उप्रेतीले गरेको र उनको टिममा डा. अर्चन अधिकारी र डा. सुवास प्रसाद आचार्यको रहेको अस्पतालले जनाएको छ ।
प्रत्यारोपण गर्न जम्मा ३ घण्टा ३३ मिनेट समय लागेको थियो । चारदिनअघि मात्र मृगौला प्रत्यारोपण शल्यक्रिया गरिएका बिरामीहरुको स्वास्थ्यस्थिति हाल सामान्य भइसकेको र उनीहरु अस्पतालबाट डिस्चार्ज हुनकालागि तयार रहेको पनि अस्पतालले जनाएको छ । काठमाडौंका निजी अस्पतालमा मृगौला प्रत्यारोपण शल्यकृया शुरु गर्ने ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल पहिलो अस्पताल हो ।
हालसम्म बीर अस्पताल, त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रले मृगौला प्रत्यरोपण गर्दै आएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...