-->
म प्रधानमन्त्री भए चीन खुसी हुने सूचना पाएको छुः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली परिस्थितिलाई सहज निकास दिनुको साटो षडयन्त्र गर्न लागेको बताएका छन्।
शुक्रबार साँझ लाजिम्पाटस्थित निवासमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री ओली विभिन्न कारण देखाउँदै षडयन्त्रमा लागेको बताए।
‘कहिले संविधानमा नयाँ सरकार बनाउने धारा नै नभएको भनेर कहिले राष्ट्रवादको नारा उचालेर ओलीजी सहज निकास दिनभन्दा षडयन्त्रमा लाग्नुभएको छ’, दाहालले भने।
संविधानमा सरकार विघटन हुने तर बन्ने व्यवस्था छैन भनेर प्रचार गरिँदैछ। तर संसदको नियमावलीमा सरकार निर्माणसम्बन्धी प्रष्ट व्यवस्था भएको उनले बताए।
‘अहिले जसरी ओलीले राष्ट्रवाद र संविधानको कुरा ल्याउनु भएको छ यसले षडयन्त्रतर्फ जान लागेको आभाष पाइन्छ’, उनले भने ‘उहाँहरूले नै मान्नुभएको संसदीय व्यवस्था अनुसार उहाँको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको बाटो खोलिदिनु पर्ने हो।’
एमालेले धोका दियो
दाहालले संविधान जारी भएपछि ओलीलाई प्रधानमन्त्रीमा नैतिकताका आधारमा समर्थन गरेको बताए। मैले त सुशील कोइरालालाई राष्ट्रपति हुनुहोस् भनेको थिएँ, तर उहाँ प्रधानमन्त्रीमा फेरि उठ्नुभयो, यस्तो बेलामा पहिला भएको सहमति अनुसार नैतिकताको आधारमा समर्थन गरेको हो’, दाहालले भने, ‘तर त्यसको अर्थ सधैँ जे गरे पनि समर्थन दिएको भन्ने थिएन।’
उनले नौ बुँदे सम्झौतासँगै भएको नेतृत्व परिवर्तन सम्बन्धी तीन बुँदे सम्झौता भएको तर त्यसमा हस्ताक्षर गर्न आवश्यक नठानिएको बताए। ‘ओली बाहेक अरु एमाले नेताहरुले तीन बुँदे नभएको भन्नुभएको छैन,’ उनले भने ‘बजेटपछि ओलीले राजीनामा दिने र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न प्रयास गर्ने, कांग्रेस सरकारमा नआए यही गठबन्धन जारी रहने सम्झौता भएको थियो।’
उनले त्यस्तो कुरा गर्दा प्रधानमन्त्री ओलीले सानो दलले २० महिना सरकार चलाउने अनि ठूलो दल ९ महिना मात्र सरकारको नेतृत्व पाउने कुरा उठाएपछि आफूले त्यस बारेमा पनि छलफल गर्न तयार रहेको स्पष्ट पारेको बताए।
माओवादीलाई सिद्धाउने एमालेको नियत
दाहालले एमालेका केही नेताहरू शान्ति प्रक्रिया सजिलै टुंग्याउने भन्दा माओवादीलाई सिद्धाउने तर्फ लागेकाले आफूहरु गठबन्धनबाट बाहिरिनु परेको बताए। ‘गोरखा, फुजेलका एक निर्दोष ७६ वर्षको मान्छेलाई मुद्दा चलाइयो। ओखलढुंगा लगायत देशभरिका अन्य घटनाम माओवादीलाई फसाउन खोजियो’, उनले भने ‘मौखिक रुपमा यी विषयमा उहाँलाई धेरै पटक आग्रह गरेपनि उहाँले नमानेपछि हामीले केन्द्रीय कार्यालय निर्णय लिखित पनि दियौं। तर पनि त्यसको कार्यान्वयन भएन।’ दाहालले निरिह भएर सरकारमा बस्नुको कुनै औचित्य नभएकाले बाध्य भएर गठबन्धन छोड्नु परेको बताए। ब्याट्रीको भरमा पार्टीले सरकार छोडेका भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लक्षित दाहालले यो नियोजित दुष्प्रचार भएको बताए।
ओलीजी आत्मकेन्द्रीत हुनुहँदो रहेछ
दाहालले नौ महिना ओलीसँग काम गर्दा उनी आत्मकेन्द्रीत भएको आफूले पाएको बताए। महत्वपूर्ण निर्णय लिदा पनि गठबन्धन छलफल नगरी ओलीलै एक्लै निर्णय लिएको उनको आरोप छ। ‘राष्ट्रपतिको भारत भ्रमण रद्ध र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउँदा समेत हामीलाई थाहा नै भएन’ उनले भने ‘संघीयता, गणतन्त्र धर्मनिरपेक्षताविरोधीसँग लाइन मिल्ने तर माओवादीलाई जसरी भएपनि सिद्धाउनुपर्छ भन्ने प्रवृत्ति देखियो।’
ओलीको नाम उच्चारण नगरीकन दाहालले अहिले देशमा सामन्तवादी राष्ट्रवाद मौलाउन खोजेको बताए। हाम्रो भनाई आन्तरिक राष्ट्रियता बलियो हुनुपर्छ भन्ने हो। नक्कली राष्ट्रवादले नेपाललाई क्षतविक्षत बनाएको छ।
‘ओलीजीले हस्ताक्षर गर्नुभन्दा पहिले चीनसँगको सम्झौता मकहाँ आएका थिए,’ उनले भने।
कतिपयले भारतीय सदासयतामा दाहाल नेतृत्वको सरकार बन्न लागेको र यसले चीनसँग ओली सरकारले गरेका सम्झौता कार्यान्वयन नहुने प्रचार गरेको भए पनि त्यो गलत प्रचार भएको दाहालले बताए। ‘ओलीले सी जिन पिङसँग गर्नुभएको सम्झौता राजदूतमार्फत् मसँग आइसकेको थियो’, दाहालले भने ‘चीन कच्चा खेलाडी होइन, प्रचण्डलाई भारतले प्रधानमन्त्री बनायो भन्ने ठान्दैन। मैले पाएको सूचनाअनुसार त चीन म प्रधानमन्त्री भएँ भने खुसी नै हुन्छ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.