-->
जनताको त्यो सजगतालाई सलाम गर्छु: प्रधानमन्त्री ओली

काठमाडौँ, ३० असार । गत वैशाख ३० गते मन्त्रिपरिषद्बाट राष्ट्रिय सुरक्षा नीति पारित भएपछि सो सम्बन्धमा दल र सरोकार निकायबीच समान धारणा कायम गर्ने उद्देश्यले रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले एक दिवसीय गोष्ठीको आयोजना गरे ।232
गोष्ठीमा तीन विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो, जसमाथि सहभागीले टिप्पणी गर्नुभएको थियो । भेलाको खुला सत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र तीन पूर्वप्रधानमन्त्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै छलफल सत्रअन्तर्गत २० समूह विभाजन गरेर सुरक्षा निकायका पदाधिकारी, सुरक्षाविज्ञ, वर्तमान र पूर्वप्रशासक, परराष्ट्रविज्ञ, पत्रकारलगायतलाई सहभागी गराइएको थियो ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, जनताको सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि सो नीति ल्याइएको हो भन्नुभयो । नीतिलाई आवश्यकतानुसार परिमार्जन गरेर छरितो र खँदिलो बनाउन सकिने उहाँले बताउनुभयो ।
भेलामा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रमुख नआउनु दुःखद् भएको टिप्पणी गर्दै उहाँले देश, भूगोल, जनताको वर्तमान र भोलिका सुरक्षाको विषयमा सबै मिलेर जानुपर्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अरु कुरामा प्रतिस्पर्धा गर्न सक्छौँ, भिन्न कुरा हुन सक्छ तर राष्ट्रिय सुरक्षाको विषयमा मतभेद हुनुहँदैन, काँग्रस र माओवादी आएको भए अझ राम्रो हुन्थ्यो ।”
उहाँले लोकतन्त्रका नाममा सुरक्षा निकायलाई कमजोर पार्न खोजिएको जिकिर गर्दै सुरक्षा निकायलाई चुस्त, दुरुस्त र आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा(एमाले)का नेता माधवकुमार नेपालले नीति बन्ने चरणमै यसबारे छलफल हुनपर्नेमा ढिलै भए पनि छलफल सुरु भएकामा आयोजकलाई धन्यवाद दिँदै भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीति मात्रै होइन, परराष्ट्र र विकास नीति पनि आउनुपर्छ, यी विषयमा समान धारणा बन्न आवश्यक छ ।”
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सुरक्षा नीति बाह्य प्रतिरक्षा र आन्तरिक सुरक्षाको समष्टिगत रुप भएको धारणा राख्दै सुरुआत आन्तरिकबाटै गर्नुपर्ने सुझाव दिनुभयो । नेपालको सन्दर्भमा भूराजनीति र दुई ठूला छिमेकीलाई सन्तुलन राख्न सक्ने सुरक्षा नीति मात्रै सफल हुने बताउनुभयो ।
पूर्वप्रधानमनत्री एवम् राप्रपाका अध्यक्ष लोकन्द्रबहादुर चन्दले सरकारले ल्याएको नीति पढेर आफू प्रभावित भएको बताउँदै नीतिले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई महत्व दिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा नीतिलाई एउटा वा दुई वटा मन्त्रालयसँग सम्बन्धित रहेको नभई सबै मन्त्रालय र देशसँग नै यो सम्बन्धित रहेको ठान्नुपर्छ ।”
भेलामा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले ‘राष्ट्रिय सुरक्षाː समस्या र चुनौतीहरु’, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी प्रतिनिधि मधुरमण आचार्यले ‘नेपालको भू–राजनीतिक सन्दर्भमा राष्ट्रिय सुरक्षा नीति’ र सांसद एवं नेपाल भारत प्रबुद्ध समूहका सदस्य डा राजन भट्टराईले ‘उदीयमान छिमेकी शक्तिहरु ː नेपालको लागि अवसर तथा चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
छलफल सत्रमा उपप्रधानमन्त्री कमल थापाले अहिले नेपालमा बाह्य शक्तिको चलखेल र प्रवाह तीव्र रुपमा बढ्दै गएको र मुलुक अन्य राष्ट्रको रणनीतिक प्रतिस्पर्धा क्षेत्र बन्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री थापाले योजनाबद्ध र सङ्गठित रुपमा सामाजिक मूल्यमान्यतामा आक्रमण भइरहेको भनाइ राख्नुभयो । उपप्रधानमन्त्री रावलले सुरक्षा नीति ल्याउँदा धेरै तगारोको अनुभूति गर्नुपरेको उल्लेख गर्दै नेपालको आफ्नै विवेक र स्रोतमा नीति ल्याइएको बताउनुभयो । उहाँले आवश्यक परिमार्जन गर्नका लागि छलफल उपयोगी हुने विश्वस व्यक्त गर्नुभयो ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राजनीतिक नेतृत्व, जनता र सुरक्षा निकाय एक भएर स्थिरता, सुरक्षा तथा विकासलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो । मुलुकभित्र सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ थियो ।
‘सरकार परिवर्तन ब्याट्रीबाट चल्नु दुःखद’
गोष्ठीमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तन स्वचालित नभई ब्याट्रीबाट चल्नु देशका लागि दुःखद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले के भइरहेको छ मैले भन्नु पर्दैन, तपाईंहरुले देखिरहनुभएको छ, सरकार परिवर्तनका बैठक लागि आफ्नाआफ्ना बीचमा भए पनि हुन्थ्यो, अलिकति स्वचालित भएको भए हुन्थ्यो ।”
उहाँले सङ्केत गर्दे भन्नुभयो, “सरकार परिवर्तनका लागि स्वस्थ र आन्तरिक कार्य जति ठीक छ, तर कुनै पार्टी बाहिरिँदा अरुले भोज खाने उफ्रिनुले चित्र स्पष्ट गर्छ ।” प्रधानमन्त्रीले नाकाबन्दीका समयमा नेपाली जनताले देशभक्तिको नमुना देखाएकामा धन्यवाद दिँदै जनताको त्यो सजगतालाई सलाम गर्छु भन्नुभयो । रासस
dainiknepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.