-->
पूर्व युवराज पारस जब ११ नम्बर जर्सीमा मैदानमा उत्रिए

 

काठमाडौं— पूर्वयुवराज पारस शाह । ११ नम्बरको पहेलो रंगको जर्सी । एकाविहानै बुढानिलकण्ठ स्कुलको फुटबल मैदानमा देखिए । त्यो पनि खेलाडीका रुपमा ।

झन्डै तीन घन्टाभन्दा बढी समय बुढानिलकण्ठ स्कूलमा विताएका पारस शाहले ११ नम्बरको जर्सी लगाएर फुटबल खेले ।


गत शनिबार बुढानिलकण्ठ स्कुलमा पढेका ‘२०० बी’ ब्याचका विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम थियो त्यस दिन । सोही अवसरमा स्कुल पढ्दाकै झल्को दिने गरी साथीभाइहरुबीच फुटबल खेलको पनि आयोजना गरिएको थियो ।

त्यही कार्यक्रममा सहभागी हुन् र फुटबल खेल्नका लागि पूर्व युवराज पारस त्यहाँ पुगेका थिए । उनी पनि बुढानिलकण्ठको ‘२०० बी’ ब्याचकै विद्यार्थी हुन् ।


२०० बी ब्याचका सहपाठीहरु, अन्य ब्याचका र अहिलेका ए–लेभलका विद्यार्थीहरुसँग मिलेर फुटबलको मज्जा लिए उनले ।


‘पारस फुटबलप्रेमी हुन्,’ उनका ब्याची समेत रहेका बुढानिलकण्ठका एचपीई डिपार्टमेण्ट प्रमुख मोहन कार्कीले नेपालीपत्रसँग भने, ‘उसलाई फुटबल एकदमै मनपर्छ । पूरै समय फुटबल खेल्यो ।’


पुनर्मिलन कार्यक्रममा भाग लिन पुगेका पारसले त्यहाँ आफ्ना ब्याजी साथीहरुसँग लामै समय गफगाफ गरे । फोटो खिचे र सँगै खाना पनि खाए । ‘रियुनियनजस्तै कार्यक्रम हो, बाहना चाहिएको थियो । अमेरिकाको इण्डियन हेड सिटी मेरिल्याण्डको भाइस मेयर बनिसकेको हाम्रै ब्याचको साथी किरण सिटौला आएको अवसरलाई हामीले जमघटको बहाना बनायौं,’ कार्कीले थपे । 


पारसका अर्का सहपाठी कृष्ण कोइरालाले पारस प्रायःजसो आफू पढेको स्कुल बुढानिलकण्ठ आइरहने बताए । ‘पूर्व विद्यार्थीहरुको कार्यक्रममा सहभागी हुन उहाँ पनि आउनुभएको थियोे,’ बुढानिलकण्ठ स्कुलका कर्मचारी समेत रहेका कोइरालाले भने , ‘उहाँ स्कूलमा आइरहनुहुन्छ ।’


पूर्व युवराज शाह विहान ९ बजे बुढानिलकण्ठ पुगेका थिए । उनी १२ बजेसम्म त्यहाँ बसे । जमघट भएकाहरुका लागि त्यही डिनरको ब्यवस्था गरिएको थियो । पारस पनि त्यहीँ डिनर खाएर फर्किए । ‘हामीले पहिले विद्यार्थी भएकै बेलाको जस्तो गरी डाइनिङ हलमा डिनर लियौं,’ कोइरालाले भने, ‘उहाँ महिनाको १ पटकजसो यहाँ आइरहनु हुन्छ ।’


उसो त पारस शाहीकाल र त्यसपछि पनि विभिन्न समयमा खेल गतिविधीमा सहभागी हुँदैं आएका छन् । एक पटक सिंगापुरमा रहेका बेला उनी मैदानमा गएर नेपाली क्रिकेट टिमलाई सपोर्ट समेत गरेका थिए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.