काठमाण्डु, ३१ असार– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित नहुन आग्रह गरेका छन् । लाजिम्पाटस्थित निवासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उग्रता प्रदर्शन नगर्न भनेका हुन् ।
सत्ता गठबन्धन टुट्दैमा एमालेसँग दुश्मनी गर्ने नीति र मनसाय आफूहरुको नभएको उनको भनाइ थियो । ‘हामी एमालेसँग दुश्मनी गर्न चाहन्नौं’, उनले भने, ‘विशेष गरी ओलीजी र उहाँको नजिकको टिमका मानिसहरुलाई मेरो आग्रह छ ।’
जनतामाझ अनावश्यक उग्रता प्रदर्शन गर्दा घाटा एमालेलाई नै हुने उनको भनाइ थियो । प्रचण्डले संविधान निर्माणपछि पूर्वसहमति अनुसार काँग्रेसले सरकारको नेतृत्व एमालेलाई दिन नमान्दा माओवादीले साथ दिएको नबिर्सन भने ।
आफ्नो समर्थनमा ओलीले नौ महिना सरकारको नेतृत्व गरेको भन्दै उनले सधैंका लागि समर्थन नदिएको बताए । ‘सुशीलजीले सहमति तोड्नुभयो’, प्रचण्डले भने, ‘हामीले समर्थन नगर्दा ओलीजी प्रधानमन्त्री बन्ने सम्भावना थिएन ।’ ओलीले संयुक्त सरकारको मूल्य, मान्यता लत्याएर आफूखुसी निर्णय गरेका कारण गठबन्धन टुटेको आरोप उनले लगाए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...