-->
जर्मनीका कोच भन्छन् - इटालीलाई जिते युरो कप जितिन्छ

असार १८ – युरोकप फुटबल अन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनलमा जर्मनी र इटालीबिच प्रतिस्पर्धा हुँदैछ । युरो कपमा जर्मनीसँग यसअघि खेलेका ८ वटै खेल इटालीले जितेको भएपनि गएको मार्चमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी ४-१ गोल अन्तरले विजयी भएको थियो । खेलअघि के भन्छन् त प्रशिक्षक ?

जोचिम लो, जर्मनी 

यो हप्ता हामीले इटालीको खेललाई निकै राम्रोसँग विश्लेषण गरेका छौँ । उनीहरुसँग राम्रो डिफेन्स मात्रै होइन आक्रामक खेलेर समाधान निकाल्न सक्ने क्षमता पनि छ । 
वास्तवमै उनीहरु कसरी बचाउ गर्ने भन्ने जान्दछन् । हामीले त्यो बुझेका छौँ र राम्रो तयारी पनि गरेका छौँ । डिफेन्स र आक्रमणमा सन्तुलन राख्नुपर्छ । पाएका अवसर गुमाएनौँ भने खेल हामी जित्छौँ ।

अरु टिमसँग जस्तो इटालीसँग पटक पटक गोल गर्ने अवसर पाइँदैन । पाएका मौका गुमाउनु हुँदैन । आजको विजेता नै युरो कपमो विजेता हो । इटालीलाई हराए हामी युरो कप जित्छौँ । 
यहाँसम्म आएका सबै टिम गोल गरेरै आएका हुन् । इटाली र जर्मनी दुबैसँग त्यो क्षमता छ । मलाई लाग्छ हामी सेमिफाइनलमा फ्रान्ससँग भेट्छौँ । तर फ्रान्स र हामीलाई पनि सोचेअनुरुप सजिलो छैन । हामी हाम्रा बलियो पक्ष प्रस्तुत गर्दै खेल जित्नेमा विश्वास गर्छौँ । 

एन्टोनलो कोन्टे, इटाली

जर्मनीसँग निकै राम्रा खेलाडी छन् । सबै पक्षमा उनीहरु बलियो छन् । उनीहरुको टिम स्पेनको भन्दा निकै राम्रो छ । यो समय जर्मनीको टिम विश्वकै सबैभन्दा मिलेको टिम हो । 
उनीहरुका सबै खेलाडी निकै राम्रो फुटबल खेल्छन् । स्पेनसँग खेल्नुअघि देखि नै हामीले विपक्षी बारे राम्ररी अध्ययन गरेका छौँ । हामीले जर्मनीलाई हराउन सक्ने आधारहरु फेला पारेका छौँ ।

उनीहरु राम्रा खेल्छन् त्यसमा सम्मान छ । तर हामी हाम्रो बलियो पक्ष प्रस्तुत गर्दै खेल्ने हो । जर्मनीसँगको खेल हाम्रा लागि निकै महत्वपूर्ण खेल हो । 
केही समय अघि सोच्दा यो विषय यस्तो जटिल थिएन । स्पेन जस्तो टिमलाई पनि हामीले हराएर जर्मनीसँग भेट भएको हो । जर्मनीसँग पनि उस्तै राम्रो खेल्नेछौँ । मलाई मेरो टिममा पूरा विश्वास छ ।

यस्तो छ इतिहास 

यसअघि युरो कपमा भएको आठ वटै खेलमा इटालीले जर्मनीलाई हराएको छ । इटाली र जर्मनीबिच यसअघि समग्रमा ३० पटक खेल भएकोमा १५ खेलमा इटाली विजयी भएको छ । 
गएको मार्चअघि जर्मनीले इटालीलाई सन् १९९५ मा हराएको थियो । त्यसबेला ज्युरिचमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी २–० ले विजयी भएको थियो । यस्तै सन् २०१३ को नोभेम्बर १५ मा भएको मैत्रीपूर्ण खेलमा दुई देशले १–१ को बराबरी खेलेका थिए । इटालीले सन् २००६ को विश्वकपको सेमिफाइनलमा अतिरिक्त समयको दुई गोलले जर्मनीलाई २–० ले हराएको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.