-->
दृष्टिबिहीन दम्पतिले पाए छानोमुनी बास

हरि कोइराला, उर्लाबारी,असार २७ गते । आँखाभरि आँशु पारेर हातमा एक लाख रुपियाँ नगद समाउँदै उर्लाबारी–२ का दृष्टिबिहीन राजकुमार राईले भन्नुभयो–झुपडीबाट एउटा राम्रो घरमा बस्ने अवशर पत्रकारहरूले जुटाइदिनु भयो । 


उहाँले हुँक्क हुँक्क गर्दै थप्नुभयो–हामी मरेर गएपनि हाम्रा दुई छोरीहरूले यसको संरक्षण गर्ने छन् । 
    हिउँद होस या बर्षयाम पानी घामपानी नछेल्ने एउटा झुपडीमा बस्दै आउनु भएका राजकुमार र उहाँकी अर्धाङ्गीनी इन्दिरा दुबै दृष्टिबिहीन हुनुहुन्छ । नेत्रहीन संघ मोरङले आयोजना गरेका सीपमुलक तालिममा सहभागी हुने क्रममा उहाँहरू बीच गहिरो प्रेम बस्यो । 
झण्डै ६ वर्ष सम्म  विभिन्न प्रकारका सीपमुलक तालिम लिने क्रममा बसेको प्रेम आखिरमा बिवाहमा परिणत भयो । सीप सिकेर जीवन धान्न सकिने ठम्याई भएपछि बिहे गरेको राजकुमारको भनाई छ । मन मिलेपछि उहाँहरूलाई विबाहमा बाँधिन न जातले रोक्यो न परिवारले छेक्यो । उमेरमा राजकुमार भन्दा इन्दिरा जेठी हुनुहुन्छ । तर,दुबैलाई सहाराको खाँचो थियो त्यसैले उहाँहरू बैवाहिक जीवनमा बाँधिनु भयो । इन्दिरा भन्नुहुन्छ–दृष्टिबिहीनले पनि घर गरी खान सक्छन भन्ने उदारहण हामीले देखाएका छौं ।  
नेत्रहीन संघ मोरङ लगायतका संघ संस्थाहरूबाट सीप सिकेपछि उहाँहरू मुडा बुन्ने पेशाबाट  अर्थोपार्जन गरिरहनु भएको थियो । तर, सधैं ब्यापार नहुने, ‘अन्धाअन्धी’ले बुनेको भनेर दया मायाले मात्र किनीदिने जस्ता समस्याले उहाँहरूलाई सधैं सताइरह्यो । यही बीचमा इन्दिरा दुईपटक सुत्केरी हुनुभयो । 
मुस्किलले दुईछाक जोड्न समस्या भइरहेको बेला संसार हेर्न सक्ने दुई सन्तान समेत थपिएपछि इन्दिरा र राजकुमारको जीवनमा खुशीसँगै नयाँ दुखहरू खात लाग्न थाले । छोरा छोरीको स्याहार चाकार,खाना पकाउने खुवाउने मात्र होइन ,कमाउनु पर्ने दायित्व पनि उहाँहरू कै थियो । राजकुमार भन्नुहुन्छ–सुत्केरी इन्दिराको स्याहार चाकार मात्र होइन, उनलाई उपचार गर्ने , खाना पकाएर खुवाउने ,लुगाफाटो सफा गर्ने सबै काम भ्याएर दुई चार पैसाका लागि मुडा बन्न पनि छोडिन । 
आम्दानी जति सबै दुई छाक जाउलोमा सकिएपछि उहाँहरूको झुपडी नाममात्र को रह्यो । परालको छानो,त्यो पनि अर्ध मात्र । न वर्षा ,न हिउँद पानीको त कुरै नगरौं घाम र शीत लहर पनि नछेल्ने । तर पनि स्वाभिमान राजकुमार दम्पति थाल थापेर कहिल्यै हिड्नु भएन । उहाँहरू भन्नुहुन्छ–हातमा सीप छ,सधैं दुखै मात्र त नहोला नि भनेर बरु एक छाक खायौं तर माग्न हिडेनौं । 
    दृष्टिबिहीन दम्पतिको यही समस्यालाई पहिलो पटक पत्रकार तेजन खड्काले उठाएपछि उहाँहरूको घर निर्माणका लागि देश विदेशबाट सहयोग जुट्न थाल्यो । ६ महिना अघि निर्माण सुरु भएको घर अहिले बनिसकेको छ । इटाको गारो लगाएर जस्तापाताले छाएको ४ कोठे घर निर्माणमा बैदेशिक रोजगारमा गएका मनकारी नेपाली दाजुभाईको ठूलो सहयोग रहेको छ । स्थानीय स्तरबाट पनि प्रकाश खड्गी,सोभितमाया तामाङले इटा,ढुंगा र सिमेन्ट सहयोग गर्नु भएको छ । 
    घर बनिसकेपछि उहाँहरूलाई ब्यावसाय गर्न उर्लाबारी–हङकङ समाजले एक लाख रुपैयाँ सहयोग गरेको छ । उर्लाबारी हङकङ समाजका  नेपाल नेपाल प्रतिनिधि राजु लामाले उक्त रकम हस्तान्तरण गर्नुभएपछि दृष्टिविहीन दम्पतिले आँखाभरि आँशु पार्दै भन्नुभयो,‘तपाईहरुको सहयोगले हामी फुसको छानो भएको घरबाट  पक्की घरमा बस्न पाएका छौ । भोली हामी नहरांैला तर हाम्रा दुई छोरीले यो गुण सधैं सम्झीरहने छन् ।gorkha patra online 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.