डोटी, असार १७ – सुदूरपश्चिममा धान लगाउन योग्यमध्ये ६४ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
क्षेत्रीय कृषि निर्देशनालयका अनुसार शुक्रबार सम्ममा सुदूरपश्चिममा ४३ दशमलव ६१ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ । सुदूरपश्चिममा धान लगाउन योग्य जमिन एक लाख ७५ हजार ३ सय ९० हेक्टर छ ।
सबैभन्दा कम रोपाइँ अन्न भण्डारका रुपमा चिनिने कैलाली, कञ्चनपुर र हिमाली जिल्ला दार्चुलामा भएको छ । त्यस्तै कैलालीमा ३५ दशमलव १६ प्रतिशत र कञ्चनपुरमा ३६ दशमलव ८२ प्रतिशत खेतमा मात्र रोपाइँ भएको छ ।
क्षेत्रीय कृषि निर्देशनालय दिपायलका अनुसार कैलालीमा धान लगाउन योग्य जमिन ७१ हजार २ सय ५० हेक्टर छ भने कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर छ । दार्चुलामा ४ हजार ४ सय ८० हेक्टर धान लगाउन योग्य जमिन मध्य ३२ दशमलव ४६ प्रतिशतमा धान रोपिएको छ ।
क्षेत्रीय कृषि निर्देशनालयका अनुसार सबैभन्दा बढी रोपाइँ अछाम र डोटीमा भएको छ । अछाममा ७५ दशमलव १२ प्रतिशत खेतमा रोपाइँ गरीसकिएको छ भने डोटीमा ७२ दशमलव ६८ प्रतिशतमा रोपाइँ भइसकेको छ । त्यस्तै बैतडीमा पनि ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
बाजुरामा ३८ दशमलव ८५ प्रतिशतमात्र रोपाइँ भएको छ । कृषि बिज्ञहरुले बेर्ना बुढो भएमा उत्पादन कमी आउने भएकाले जतिसक्दो चाडो धान रोप्न उचित हुने सल्लाह दिएका छन् ।
उता जिल्ला कृषि बिकास कार्यालय डोटीका बरिष्ठ कृषि विकास अधिकृत डा. तपेन्द्रजंग शाहले अधिकांश किसानले रोपाइँ समयमैसकेकाले यो वर्ष डोटीमा धान उत्पादन राम्रो हुने बताउनु भयो । उहाँले भन्नु भयो ‘समयमै वर्षा भयो किसानले रोपाइँ धमाधम गर्दै छन् आशा गराँै यो वर्ष राम्रै उत्पादन हुने छ ।’ ujyalo90 network


0 comments
प्रतिक्रिया दिनुहोस्...