प्रचण्डले बोली फेरे- ‘ओलीजी कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार’
बनेपा, २० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ढाल्ने आफूहरुको उद्देश्य नभएको बताएका छन् ।
काभ्रेको उग्रचण्डीनालामा शहिद गेट उद्घाटन गर्दै प्रचण्डले सरकार गिराउने खेलमा माओवादी नलागेको दाबी गर्दै वर्तमान प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने बताए ।
उनले भने- ‘अहिले सरकार बनाउने अथवा गिराउने हाम्रो उद्देश्य होइन् । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको कुरा आएको हो । ओली जी कै नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ ।’
गत शनिबार माओवादीको केन्द्रीय समिति बैठकले सके राष्ट्रिय सहमतिको सरकार नसके आफ्नै नेतृत्वमा बहुमतीय सरकार बनाउने निर्णय गरेको थियो । उक्त निर्णयले माओवादीको चर्काे आलोचना भएपछि आज विहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर काभ्रे पुगेका प्रचण्डले बोली फेरेका हुन् ।
प्रचण्डले कांग्रेस र एमालेबीच सहमति जुट्न नसकेको खण्डमा माओवादीले समन्वयकारी भुमिका खेल्दै राष्ट्रिय सहमतिको नेतृत्व लिन सक्नेभन्दै भने- ‘ओली जी र देउवा जी नमिल्ने हो भने उहाँहरु दुईजनाको बीचमा भुमिका खेलेर म नेतृत्व लिन सकुला तर, सबै एक ठाउँमा आउनुपर्यो ।’
अहिलेको लोकप्रिय सरकार हामी किन ढाल्ने भन्दै प्रचण्डले अहिलको अवस्थामा राष्ट्रिय सहमति आवश्यक भएको र सहमति भएन भने ओली जीलाई नकार्न सक्दैनौं भने ।
कार्यक्रममा उनले संविधान कार्यान्वयन, भूकम्प पीडितको पुनर्स्थापना र पुनर्निर्माणका लागि सबै दल मिल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले नेता गोकुल बास्कोटाले भूकम्प पीडितका नाममा कांग्रेसका पूर्व अर्थमन्त्री रामशरणले गरेको ब्रह्मलुट र अन्तर्राष्ट्रिय सहमतिले नै सरकारलाई काम गर्न गाह्रो भइरहेको भन्दै यो सरकार फेरियो भने राष्ट्रिय स्वाधिनतामा आँच आउने चेतावनी दिए ।
dainiknepal


0 comments
प्रतिक्रिया दिनुहोस्...