‘गठबन्धन मात्रै होइन, नेतृत्व पनि परिवर्तन नगर्ने उनकै प्रस्तावअनुसार त्यतिवेला (गत असोजमा) माओवादीलाई उपराष्ट्रपति, सभामुखदेखि एमालेले पाँच मन्त्रालय राखेर महत्वपूर्ण आठ मन्त्रालय दिएका थियौँ,’ ओलीले भने, ‘तर, माओवादी त बर्केनो गाईको बाच्छोजस्तो रहेछ, दूध नआए पनि जुनसुकै वेला छ्वास्स, छ्वास्स हानिरहने ।’ उनले नेतृत्व परिवर्तनका लागि माओवादीले पटक–पटक बार्गेनिङ गरेको स्मरण गर्दै तीनबुँदे भद्र सहमति पनि नभएको स्पष्ट पारे । ‘बार्गेनिङ नछाडेपछि समय र परिस्थिति आएपछि विचार गर्न सकिन्छ भन्ने कुरा मात्रै भएको थियो, त्यस्तो कुनै भद्र सहमति थिएन,’ उनको भनाइ थियो ।
राजीनामा किन दिने ? संसदमै सामना गर्छु
राजीनामा दिन्नँ, प्रधानमन्त्रीको निर्वाचनमा संसद्मा मतदानबाट निर्वाचित भएको हुँ । कि त विश्वासको मत फेल भो भने अल्पमतमा परेछु भन्ने हुन्छ, कि अविश्वासको प्रस्ताव पारित भो भने अल्पमतमा पर्ने हो । अहिले त्यसको मापन भइसकेकै छैन । संसद्ले निर्वाचित गरेकाले म संसद्प्रति नै उत्तरदायी छु । संसद्मै अविश्वासको प्रस्तावको सामना गर्छु । त्यसपछि संवैधानिक प्रक्रियाअनुसार मुलुक अघि बढ्नेछ । कांग्रेस–माओवादी गठबन्धनलाई साथ : मोर्चा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकार ढल्दा मधेसी जनतामा खुसियाली छाएको बताएका छन् । ओली सरकार ढल्नैपर्ने भएकाले
कांग्रेस–माओवादीको गठबन्धनलाई साथ दिने
उनको भनाइ छ । ‘केपी ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौँ, मधेसी जनता मर्दा आँप झ¥यो भन्ने सरकार ढल्दा सिंगो मधेस यतिवेला खुसी छ,’ कर्णले बिहीबार आयोजित एक कार्यक्रममा भने । उनले मोर्चा सरकारमा सहभागी हुन तत्काल केही समस्या रहेको बताए ।
जोगी बन्न राजनीति गरेको होइन
कर्णले कांग्रेस–माओवादी गठबन्धनमा बन्ने सरकारमा मधेसी मोर्चा सहभागी हुने कुरा संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा निर्भर रहेको उल्लेख गरे । ‘हामी राजनीतिकर्मी हौँ, हामी मठ–मन्दिरको पूजा गर्न आएका जोगी होइनौँ, सन्न्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौँ,’ उनले भने ।
ओलीले निकै ढिलो गर्नुभयो
कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्न आग्रह गरे पनि त्यो ढिला भइसकेको बताए । ‘अब धेरै ढिला भइसक्यो, हामी धेरै अगाडि बढिसक्यौँ,’ नेता लेखकले थपे, ‘कांग्रेसले प्रधानमन्त्री बन्न पाइन्छ भनेर विकल्प खोजेको होइन, ओली नेतृत्वको सरकारले राष्ट्रिय एजेन्डा बोक्न नसकेको कारण विकल्प खोज्न बाध्य भएका हौँ ।’
नेपालको राजनीतिक विकासक्रम आन्तरिक मामिला :
भारत भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ । बिहीबार नयाँदिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यो जवाफ दिएका छन् । पहिलो पत्रकारको प्रश्नमा उनले भने, ‘हामी विश्वास गर्छौँ कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् । आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ? प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रवक्ता स्वरूपसँग भारतको प्रतिक्रिया मागेका थिए । स्वरूपले जवाफ दिए, ‘मैले उहाँको अभिव्यक्ति हेरेको छैन । यदि त्यस्तो हो भने हामी यसलाई अस्वीकार गर्छौँ ।’
नयाँपत्रिकाबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...