रोनाल्डोलाई उछिने गेराले
असार ३० – हंगरीका जोल्टान गेराको गोल युरोकप २०१६ को उत्कृष्ट गोल घोषित भएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो
बेवसाइट मार्फत गरेको मत सर्वेक्षणको आधारमा गेराको गोल उत्कृष्ट भएको हो । गेराले समूह चरणमा पोर्चुगलसँगको खेलमा १९ औं मिनेटमा गरेको गोल युरोकपको सर्वोत्कृष्ट गोलका रुपमा चुनिएको हो ।

गेराले च्याम्पियन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै गोल अफ द टुर्नामेन्टको अवार्ड जितेका हुन् । आइतबार रातिको फाइनलपछि गोल अफ द टुर्नामेन्टका लागि पाँच गोल छनौट गरी मत दिन युइएफएले आग्रह गरेको थियो ।
एक लाख ५० हजार भन्दा धेरै मतदान भएकोमा गेराले ३२ प्रतिशत मत पाए । गेराको गोल वेल्ससँगको सेमिफाइनलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ५० औं मिनेटमा हेड मार्फात गरेको सुन्दर गोललाई पनि पछि पार्यो । रोनाल्डोको गोलले २४ प्रतिशत मत पाए ।
यस्तै तेस्रो नम्बरमा स्वीट्जरल्याण्डका जार्डन शकिरीले अन्तिम १६ अन्तर्गत पोल्याण्डसँगको खेलमा गरेको गोल पर्यो । शकिरीको गोलले २३ प्रतिशत मत पायो ।
यस्तै फ्रान्ससँगको फाइनलमा पोर्चुगलका एडरले गरेको गोल १६ प्रतिशत मतसहित चौथो तथा क्वाटरफाइनलमा बेल्जियमसँगको खेलमा वेल्सका हाला रोब्सन कानुले गरेको गोल पाँच प्रतिशत मतसहित पाँचौं स्थानमा रह्यो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...