काबुलमा मारिएका युवाका परिवारलाई १० लाख
काबुलमा मारिएका युवालाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री अाेली । तस्बिर: अन्नपूर्ण
काठमाडौंः अफगानिस्तानको काबुलमा तालिवान आतंकारीको आत्मघाती आक्रमणमा मारिएका १२ जना युवाका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काबुलमा मारिएका १२ जना युवाहरुका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
‘सरकारले काबुल घटनाको निन्दा गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरी शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ’, मन्त्री राईले भने, ‘घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिपिरवार १० लाख दिने निर्णय भएको छ । घाइतेहरुको उपचारको व्यवस्था सरकारले नै गर्ने छ ।’
सरकाले हाल अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि अफगान सरकारसँग कुरा गर्ने पनि निर्णय गरेको छ ।
‘अफगानिस्तानबाट फर्कन चहाने नेपालीलाई सहयोग गर्ने पनि निर्णय भएको छ’, राईले भने, ‘काबुल घटना लगायत द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपालीको अवस्थाबारे बुझेर प्रतिवदेन दिन श्रम मन्त्रालयलाई निर्देशन दिएका छौं ।’annapurnapost


0 comments
प्रतिक्रिया दिनुहोस्...