काठमाडौं, १९ असार । मेडिकल कलेजहरूको संगठन ‘एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डटल कलेज अफ नेपाल’ले डा.गोविन्द के.सी.को आन्दोलनप्रति आशंका जनाउँदै पछिल्लो पटक आएका उनका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एशोसिएसनले आइतबार विज्ञप्ति जारी गरेर विद्यार्थी भर्नाका बेला डा. गोविन्द के.सी.ले गर्न लागेको अनशन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने मागले सबैलाई सशंकित तुल्याएको जनाएको हो ।
‘डा.गोविन्द के.सी.ले चिकित्साको सुधारका लागि आफूले उठाएका माग र विगतमा भएका सम्झौत लागू गर्न र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाएर तत्काल नहटाइए आगामी असार २६ गतेदेखि पुनः अनशन बस्ने चेतावनी दिएकोप्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’
डा.के.सी.ले अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाएर हटाउने माग अगाडि सारेपछि गम्भीर बिबादमा मुछिएका हुन् । उनको यो मागको कुनै सान्दर्भिकता नरहेको मेडिकल क्षेत्रका जानकारहरूले बताउँदै आएका छन् । स्वयं डा.के.सी. कार्यरत संस्था त्रिवि शिक्षण अस्पतालले पनि अस्पतालहाताभित्र अनशन नबस्न चेतावनी दिएसकेको छ ।
‘पटक–पटकको अनशनको अडानमा स्वास्थ्यकर्मीहरूवीच मनोमालिन्यता उत्पन्न गर्नुका साथै चिकित्सक शिक्षालाई पूरै सिध्याउने प्रपञ्च रचिएको र नेपाल मेडिकल शिक्षाको स्तरलाई गिराउने प्रयास भइरहेको हामीलाई भन भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘जब मेडिकल कलेजमा विद्यार्थी भर्नाको समय आउँछ तब मेडिकल शिक्षाको भ्रम फैलाएर नेपाली विद्यार्थी विदेश पठाउने गिरोहको उक्साहटमा लागेर डा.गोविन्द के.सी.ले अनशन बस्ने गरेका छन् । विद्यार्र्थी भर्नाको समय नजिकिरहेको बेला उनको पछिल्लो अनशनको धम्कीलाई पनि त्यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।’
निजी क्षेत्रका मेडिकल कलेजहरूले प्रदान गर्दै आएका जेहेन्दार गरिव विद्यार्थीका लागि झण्डै ३ सय छात्रवृत्ति नेपाल सरकारले आफ्नो लगानी गरेर उत्पादन गरेका चिकित्सकहरू भन्दा पनि बेसी हुन आउने एशोसिएसनले जनाएको छ । यस्तो परिवेशमा डा.गोविन्द के.सी.ले सिट कटौतीको माग राखेर नयाँ मेडिकल कलेजहरू खुल्न नदिनुको परिणाम जेहेन्दार विद्यार्थीको सिट कटौतीभन्दा अर्को कुनै विषय नरहेको जनाइएको छ ।
‘डा.गोविन्द के.सी.ले यसो गर्नुको पछाडि नेपाली विद्यार्थीले नेपालमा बसेर पढ्न पाउने अधिकार बञ्चितगरी विदेश पढ्न पठाउनुलाई अभिप्रेरित गरेको स्पष्ट हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा अध्ययन गर्नबाट बञ्चित गरी विदेश पठाउँदा निजी मेडिकल कलेजले प्रदान गर्दै आएको २०औँ हजारको रोजगारी र त्यसबाट आश्रित लाखौँलाई पर्न जाने असर र मेडिकल कलेजहरू धरासायी भइ बन्द नै हुनुपर्ने अवस्थामा पुग्दा यी मानिसहरूलाई के असर पर्छ भन्ने कुरासम्म नसोचिकन डा.गोविन्द के.सी.ले उठाएको कदम आफैमा आबद्ध रहेको संस्था शिक्षण अस्पताल महाराजगञ्जसँग तुलना गर्न मल्दिैन र ?’
आजभन्दा २५ वर्ष अगाडिदेखि २ सय ५० प्रतिशत बढी भत्ता लिँदै आएको शिक्षण अस्पताल महाराजगञ्जका गाविन्द के.सी.लगायत प्रध्यापकहरूले नन प्राक्टिसियन भत्ता छुट हुँदा पनि नन प्राक्टिसियन भक्ता लिँदै आएको र त्यसलाई ढाकछोप गर्नका लागि अवाथ त्यसबारे कुनै मुद्दा नउठोस् भनेर अख्तियार प्रमुखलाई महाभियोग लगाउने षड्यन्त्र त कतै भएको हैन ? डा.के.सी.ले आफ्नो आठौँ मागमा अख्तियार प्रमुखलाई महाभियोग लगाएर राजीनामा माग्नुको पछाडि के तथ्य हुन्छ ? आज प्रत्येक नेपालीले यो विषय गम्भीरताका साथ सोच्नु पर्ने बेला आएको छ ।’
‘यदि हामीले देशको मेडिकल शिक्षालाई अझ गुणस्तर बनाउन सहयोग गर्नेहरूलाई महाभियोग लगाएर हटाउँदै जाने हो भने भोलि नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था के हुने हो त्यो हामी टड्कारै अनुमान गर्न सक्दछौँ’, एशोसिएसनले भनेको छ, ‘डा.गोविन्द के.सी.को आठौँ अनशन अत्यन्तै अदुरदर्शी, दुराशयपूर्ण र व्यक्तिगत स्वार्थमा निहीत हो भन्ने एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल अफ नेपालको ठम्याइ छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...