काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर कांग्रेससँग मिलेर नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि छिमेकी मुलुक भारतको हात रहेको बताउनुभएको छ ।
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय राजदूत रञ्जित रेले ठूलो भूमिका खेलेको आरोप लगाउनुभयो । ‘सरकार परिवर्तनका लागि दलहरूका बैठक स्वचालित रुपमा नभइ ब्याट्रिबाट चलिरहेको र त्यो मुलुकका लागि निकै दुःखद् छ’, ओलीले भन्नुभयो ।
उहाँले कुनै एउटा पार्टी सरकारबाट बाहिरिँदा अरूले उफ्रिएर खुशी भइ भोज खानुलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो ।
नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम भारतले कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तनको खेलामा लागेको ओलीले आरोप लगाउनुभयो ।
‘सरकार परिवर्तनको योजना मुताबिक माओवादी सरकारबाट वाहिरिएपछि भारतीय राजदूत रञ्जित रेले भोज खुवाएको थाहा पाएको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...